तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर प्रशासनद्वारा सेवा प्रवाहका लागि स्थानीय तहगत रूपमा बार तालिका सार्वजनिक

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि फरक फरक बारमा फरक फरक स्थानीय तहका नागरिकलाई सेवा दिने जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न भौतिक दुरी कायम गर्नुपर्ने र कार्यालयमा सेवाग्राहीको चाप समेत बढ्न थालेपछि स्थानीय तह अनुसार समय निर्धारण गरी सेवा दिन लागिएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यही साउन १८ गते आइतबारदेखि अर्को व्यवस्था नभएसम्म लागु हुने गरी एक सूचना जारी गर्दै स्थानीय तहगत रूपमा बार तालिका सार्वजनिक गरेको छ ।

सूचनामा उल्लेख भए अनुसार, भीमदत्त नगरपालिका, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका बासिन्दालाई आइतबार र सोमबार सेवा दिइने छ ।

त्यस्तै, कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकाका बासिन्दालाई मङ्गलवार र बुधवार तथा वेदकोट नगरपालिका, महाकाली नगरपालिका र बेलडाँडी गाउँपालिकाका बासिन्दालाई बिहीबार र शुक्रवार सेवा प्रवाह गरिने छ ।

शान्ति सुरक्षाको निवेदन तथा कानुन बमोजिम हुने मुद्दा सम्बन्धीका कार्यहरू भने कार्यालय खुल्ने हरेक दिनमा हुने जनाइएको छ ।

सेवा लिन आउने सेवाग्राहीहरूले कोरोना भाइरस रोकथामका लागि अपनाउनु पर्ने सम्पूर्ण सुरक्षा उपायहरू अनिवार्य अवलम्बन गर्नुपर्ने भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button