तपाईँ सुन्दै हुनुहुन्छः

छ घरपरिवारलाई स्थानान्तरण  गर्न गाउँपालिकाले जग्गा किन्याे

दमौली  ।  पहिरोको जोखिममा रहेका तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेका छ घरपरिवारलाई सुरक्षित स्थानमा सारिने भएको छ । गत असार २९ गते पहिरोले घर पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जोखिमपूर्ण बसोबास रहेको यहाँका ती घरपरिवारलाई गाउँपालिकाले सुरक्षित स्थानमा सार्न लागेको हो ।

हाल बसिरहेको भन्दा केही माथि बस्ती स्थानान्तरणका लागि गाउँपालिकाले छ आना जग्गा खरिद गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

“पहिरोको जोखिम नरहेको ठाउँमा जग्गा खरिद गरी परिवारलाई स्थानान्तरण गर्न लागेका छौँ”, उहाँले भन्नुभयो। जग्गा गाउँपालिकाले खरिद गरिदिए पनि घर भने सम्बन्धित व्यक्तिले नै बनाउनुपर्नेछ । “विस्थापित परिवारलाई सरकारले घर बनाउन केही रकम दिने कुरा छ, गाउँपालिकाले पनि के गर्न सक्छ त्यसमा छलफल गछौैँ”, उहाँले भन्नुभयो ।

गत असार २९ गते पहिरोले घर पुरिएर आम्बबहादुर थापाका दुई छोराबुहारी र एक नातिनी गरी पाँच जनाले ज्यान गुमाएका थिए । घटनापछि थापाका परिवार सोही ठाउँमै रहेको छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

यही साउन ६ गते परेको भीषण वर्षाले घर भत्किएका बन्दीपुर गाउँपालिका–१ का दुई परिवारलाई गाउँपालिकाले राहत रकम प्रदान गरेको छ।

पूर्ण घर क्षति भएकालाई रु ३० हजार सहयोग गर्ने निर्णयबमोजिम गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले मन्जु अधिकारी र अर्जुन अधिकारीलाई उक्त रकम प्रदान गर्नुभयो । सोही अवसरमा रेडक्रस सोसाइटीबाट प्राप्त सामग्रीसमेत प्रदान गरिएको थियो । बन्दीपुर–१ मा दुई घर पूर्ण, १० घर आंशिक क्षति र १५ घर जोखिममा रहेको वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिनुभयो ।

गाउँपालिकाले बाढीपहिरोबाट घर क्षति भएकालाई राहत दिने निर्णय गरेको थियो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाका अनुसार पूर्णरूपमा घर क्षति भएकालाई प्रतिघर रु ३० हजार र आंशिक घर क्षति भएकालाई प्रतिघर रु १० हजारका दरले राहत दिइनेछ । साथै बाढीले खेत बगर भएका किसानलाई प्रतिरोपनी रु दुई हजारका दरले राहत दिइनेछ ।

“पहिराले घर पूर्णरूपमा क्षति भएर २० घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार २० घर आंशिकरूपमा क्षति भएको छ । पहिरोबाट विस्थापित भएकाहरु छिमेकी र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन्। बाढीले बन्दीपुर गाउँपालिकाभित्रका धेरै खेतहरु बगर भएका छन् । बगर भएका खेतको अनुगमन गरी क्षति भएका किसानलाई राहतस्वरुप क्षतिपूर्ति दिइनेछ । “खेतमै पुगेर कति क्षति भएको छ, त्यसको निरीक्षण गर्छौँ, त्यसपछि कृषकलाई प्रतिरोपनी रु दुई हजारका दरले राहत रकम दिन्छाैँ”, अध्यक्ष थापाले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button