पहिरोले बुटवलका ३ घरपरिवार विस्थापित
रुपन्देही । लगातारको वर्षापछि आएको पहिरोले रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड ४ का ३ घरपरिवार विस्थापित भएका छन् भने सो वडाको ३ वटा टोल नै उच्च जोखिममा परेको छ ।
पहिरोले लक्ष्मीनगरमाथि रहेकोे चुरे पहाड खसेपछि गैरीगाउँका ३ घरपरिवार विस्थापित भएका हुन् । उनीहरुलाई नजिकैको सामुदायिक भवनमा सारेको बुटवल–४ का वडाअध्यक्ष टंकप्रसाद पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार गैरीगाउँका २० घर पहिरोको उच्च जोखिममा छन् । उनीहरुलाई सचेत रहन आग्रह गरिएको छ । पानी बढ्दै गए राति २० घरलाई पनि सामुदायिक भवनमै सार्ने पराजुलीले बताउनुभयो ।
लक्ष्मीनगर, गैरीगाउँ र लक्ष्मीपार्क माथिको चुरे पहाड खसेपछि गैरीगाउँको बस्ती पहिरोको उच्च जोखिममा परेको उहाँको भनाइ छ । चुरेबाट भेल लिएर आएको सुखौरा खोलाले दर्जन रुख ढालेपछि धार परिवर्तन हुँदा गैरीगाउँ माथि पहिरो खसेको छ ।
पहिरो खसेको क्षेत्रमा बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र सुरक्षा निकायले स्थलगत अनुगमन गरेका छन् । वडाअध्यक्ष पराजुलीले तत्काल पहिरो नियन्त्रण र खोलाको धार पुरानै बहाव क्षेत्रमा जाने बनाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्