तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई बाँदर धपाउने यन्त्र वितरण

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाका विभिन्न वडाका किसानहरूलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ ।

बाँदरले बर्षौंदेखि बालीनाली नष्ट गरिरहेका किसानहरूको सजिलोका लागि बाँदर धपाउने यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नं ५ मा २५ वटा यन्त्र वितरण गरिएका छन् । प्रत्येक टोलका किसानहरूलाई पायक पर्ने गरेर यन्त्र वितरण गरेको उपप्रमुख चन्दले बताउनुभयो । नगरपालिकाले स्याङ्जाको जयलक्ष्मी आँधी खोला कन्स्ट्रक्सन प्रा.लि.बाट एक सय थान बाँदर धपाउने यन्त्र खरिद गरेको उहाँले बताउनुभयो । नगरपालिकाका बाँदर प्रभावित अन्य वडाका किसानहरूलाई यन्त्र वितरण गरिने उपप्रमुख चन्दले जानकारी दिनुभयो ।

बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेसिनले ठुलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने बताइएको छ । यन्त्र वितरण गरिएका किसानहरूलाई यन्त्र चलाउन पनि सिकाइएको छ ।

बाँदर धपाउने यन्त्र पाइएपछि बाँदर धपाउन सहयोग पुग्ने किसानहरूले विश्वास गरेका छन् । बाँदरले बालीनाली सखाप पारेका बेला नगरपालिकाले बाँदर धपाउने यन्त्र वितरण गर्दा केही राहत मिल्ने स्थानीय पुष्पा चन्दले बताउनुभयो । बालीनाली जोगाउन बाँदर धपाउने यन्त्रले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

नगरपालिकाले बाँदर नियन्त्रण गर्ने योजना अन्तर्गत तीन लाखको लागतमा यन्त्र किनेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button