तपाईँ सुन्दै हुनुहुन्छः

चेपाङ बस्तीमा भएको घटनाका दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवनको माडी स्थित चेपाङ बस्तीमा भएको घटनाका दोषीलाई कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुसुम खोलामा बसोबास गर्दै आएका चेपाङका घर बास उठाउने गरी गरिएको आगजनीको भर्त्सना गर्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत समुदायको बासको जतिसक्दो चाँडो व्यवस्थापन गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले चेपाङ बस्तीमा भएको घटना विधि र समय दुवै हिसाबले दुःखद र उपयुक्त नभएकाले दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले घटनाको वस्तुस्थिति र गंभिर्यतालाई हेरेर त्यहाँबाट वार्डेन र सहायक वार्डेनलाई विभागमा बोलाइएको र मन्त्रालयले बनाएको समितिले दिएको प्रतिवेदनका आधारमा विना ढाकछोप दोषीलाई कारबाही हुने स्पष्ट पार्नुभयो ।

बैठकमा सांसदहरुले लोकतन्त्रीक व्यवस्थामा पनि गास, वास र कपासकै लागि मान्छेले ज्यान गुमाउनु पर्ने अवस्था आउनु र मध्य बर्षात्का बेला गरिब चेपाङको वास उठाइनु खेदजनक भएको भन्दै दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button