च्याउ खाँदा बिरामी परेका एकै घरका थप तीनको मृत्यु
जाजरकोट । जंगली च्याउको तरकारी खाएर गम्भीर बिरामी परेका जाजरकोट कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो ।
गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउने सहित परिवारका आठ जना बिरामी परेका थिए ।
बिरामी परेका उनीहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताउनुभयो ।
चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार मृत्यु भएको थियो । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो । बिरामी परेका एकजनाको अवस्था गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा पौडेलले बताउनुभयो ।
घरमूली ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललित, ३० वर्षीय बुहारी कल्पना, छोरी पशुपतिको सुर्खेतमै उपचार भइरहेको छ । गाउँपालिकाले निजी खर्चमा हेलिकप्टर चार्टर गरेर बिरामीको उद्धार गरेर सुर्खेत पुर्याएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्