गुणस्तरीयता अभिवृद्धि गर्न सार्वजनिक सञ्चार माध्यमहरुलाई निर्देशन
अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सेवाको गुणस्तरीयता अभिवृद्धि गर्न सार्वजनिक सञ्चार माध्यमहरुलाई निर्देशन दिनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायको वार्षिक प्रगति समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज सिंहदबारमा बसेको बैठकमा मन्त्री डा. खतिवडाले सेवाको परिमाण विस्तारले मात्र जनताको सुसुचित हुने अधिकार सुनिश्चित नहुने भन्नुहुंदै जनअपेक्षा अनुरुप सेवाको गुणस्तरीयता र विषयवस्तुको चयनमा ध्यान दिन सार्वजनिक सञ्चार माध्यामहरुलाई निर्देशन दिनुभयो ।
मन्त्री डा.खतिवडाले सरकारी निकायहरुले सामग्रिको खरिद प्रक्रियालाई प्राथमिकतामा राखेर जनशक्ति विकासको पाटोलाई महत्व नदिएको भन्नुहुंदै कर्मचारीको पेशागत क्षमता र दक्षता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री डा. खतिवडाले मन्त्रालय मातहतका निकायसँग भएको सम्पतिको अभिलेख राखी स्रोत साधनको योथोचीत व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
मन्त्री डा. खतिवडाले सूचना प्रविधिको क्षेत्रमा मुलुकले उल्लेख्य प्रगति हासिल गरेको भन्नुहुंदै प्राविधिक र कानूनी सुरक्षालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सञ्चार तथा सूचना मन्त्रालय र मातहतका निकायको वार्षिक प्रगति समिक्षा प्रतिवेदन प्रस्तुत हुनुका साथै सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा र मन्त्रालयका सचिव हरिप्रसाद बस्यालबीच चालु आर्थिक वर्षको कार्य सम्पादन सम्झौता पनि भएको छ ।
त्यस्तै बैठकमा मन्त्रालयका सचिवको मन्त्रालयका सहसचिव, शाखा प्रमुख र मातहतका निकायका प्रमुखहरु संग समेत चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको छ ।








प्रतिक्रिया राख्नुहोस्