स्याङ्जामा ९७ प्रतिशत रोपाइँ, साउन १५ मा यसवर्षको रोपाइँ सकिने

स्याङ्जा । साउन दोस्रो हप्तासम्म आईपुग्दा स्याङ्जामा रोपाइँ अन्तिम चरणमा पुगेको छ । जिल्लाको धान खेति हुने भु–भागमध्ये ९७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताउनुभयो । यसवर्ष धान रोपाइँ शुरु हुने समयदेखि निरन्तर वर्षा भएका कारण जिल्लामा शतप्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । प्रमुख अधिकारीले भन्नुभयो, ‘यसवर्ष शतप्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । निरन्तर वर्षाका कारण साउन दोस्रो हप्तासम्म पनि रोपाइँ जारी रहेको छ ।’ साउन १५ सम्ममा यसवर्षको रोपाइँ सकिने प्रमुख अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका केहि भु–भागमा रोपाइँ जारी रहेको छ । यहाँ सामान्यतया जेठको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म धान रोप्ने गरिन्छ तर यसवर्ष पर्याप्त वर्षाका कारण रोपाँई जारी रहेको हो । जिल्लाको कुल क्षेत्रफलको १६ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिने कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो । ‘गत वर्षभन्दा यस वर्ष बाँझो जमिनमा धान खेती बढेको छ ।’ उहांले भन्नुभयोे । यो वर्ष शतप्रतिशत रोपाइँ हुने आंकलन गरिएको छ ।
जिल्लालाई धानमा आत्मनिर्भर बनाउन १२ हजार मेट्रिक टन धान उत्पादन बढाउन आवश्यक छ ।’ गतवर्ष स्याङ्जामा ६५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान उत्पादक क्षेत्र हुन् । स्याङ्जामा साबित्री, राधा ४, सुनौलो सुगन्धा, खुमल ११, मकवानपुर १, स्थानीय मन्सुली, राधा ७, राधा ११ राधा १२ लगायतका उन्नत जातका धान रोप्ने गरिन्छ । यसैगरी, बर्मेली, जर्नेली, अनदी, गुर्दी, पहेंले, खुमल, गोला लगायतका स्थानीय जातका धान पनि रोपिन्छन् ।
यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङका फाँटहरु पनि धानका प्रमुख उत्पादक स्थान हुन् । कोरोना सक्रंमणका कारण धान खेतिका लागी आवश्यक जनशक्ति अभाव नहुँदा धानखेति यसवर्ष बढेको हो । कोरोना सक्रंमणका कारण गाउँगाउँमा युवा जनशक्ति हुँदा यसवर्ष बाँझो जमिनमा समेत धान रोपिएको छ । जेठ अन्तिम देखि अहिलेसम्म निरन्तर वर्षा हुँदा धान उत्पादन वृद्धि हुने देखिएको छ । धान बाली यहांको मुख्य खाद्यान्न बाली हो ।








प्रतिक्रिया राख्नुहोस्