नगरसभा नभए वडाध्यक्षले दिए नगरमा ताला लगाउने धम्की

बारा । समयमा नगरसभा गर्न नसकेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाका ७ जना वडाध्यक्षले आज मेयर समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
नेपाली काँग्रेस र राजपाबाट बिजयी भएका वडाध्यक्षहरुले अविलम्ब नगर सभा गर्न माग गर्दै ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्रमा कार्यपालिकाको बैठकको मिति तोक्न, नगर सभा नभएसम्मका लागि पुरानै दररेटमा राजस्वको दररेट कायम हुनुपर्ने, गत आर्थिक वर्षको आय व्यय पारदर्शी हुनुपर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएका हुन ।
गत आर्थिक वर्षको खर्च भएका योजनाको रकम समेत भुक्तानी नभएको भन्दै भुक्तानीका लागि पहल गर्न समेत वडाध्यक्षहरुले ध्यानाकर्षण गराएका थिए ।
दुई दिनको म्याद दिदै वडाध्यक्षहरुले आफ्नो माग संवोधन नभए वडा कार्यालय तालाबन्दी गरी नगरलाई चाबी बुझाई नगरमा समेत तालाबन्दी गराई नगरपालिकामा धर्ना दिने भन्दै चेतावनी सहितको ज्ञापन पत्र नगर प्रमुखलाई बु्झाएका छन् ।
ज्ञापन पत्र बुझ्दै जीतपुरसिमराका नगरप्रमुख डा.कृष्ण पौडेलले हालका लागि राजस्वको दररेट परिवर्तन नगरिएको र नगरसभा श्रावण महिना भित्रमा नै गर्ने गरी तयारी भईरहेको जानकारी गराएका थिए ।
ज्ञापनपत्रमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हीराबहादुर गुरुङ्ग, वडा नं. ७ का अध्यक्ष रामवावु गुप्ता, वडा नं. १७ का वडाध्यक्ष नवराज खड्का, वडा नं. २०का वडाध्यक्ष रसुल मियाँ अन्सारी, वडा नं. १२ का अध्यक्ष लालवावु चौधरी, वडा नं. ८ का वडाध्यक्ष रामबाबु पटेल र वडा नं. १० का वडाध्यक्ष सरोज पटेलले हस्ताक्षर गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्