तपाईँ सुन्दै हुनुहुन्छः

समुदायमा कोरोना फैलिएको आशंकामा मेचीनगरमा मास टेस्टिङ शुरु

भद्रपुर, झापा । समुदायमा कोरोना संक्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ सुरू गरिएको छ ।

मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मासटेस्टिङ’ सुरू गरेको हो ।

पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिनुभयो ।

गत शुक्रबार काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्कामा मास टेस्टिङ शुरु गरिएको हो ।

आइतबार पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ जना र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शशीकला राईले जानकारी दिनु भयो ।

हालसम्म मेचीनगरमा ७० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ भने ४६ जना निको भएर फर्किएको र २४ जना उपचाररत छन् ।

अर्को चरणमा धुलाबारी र चारआली बजार क्षेत्रमा ‘मास टेस्टिङ’ गरिने छ । यसमा लाग्ने सम्पूर्ण खर्च नगरपालिका आफैँले व्यहोरेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button