लडेर घाइते भएका बालक उपचारका लागि आर्थिक अभाव हुँदा एक वर्षदेखि ओछ्यानमा

सल्यान । उपचारका लागि आर्थिक अभाव भएपछि सल्यानका एक बालक विगत एक वर्षदेखि ओछ्यानमै थलापरेका छन् ।
बनगाड कुपिण्डे ३ पट्केका १७ वर्षीय झुपबहादुर बुढा आर्थिक अभाव भएपछि लडेर घाइते भएको एक वर्षसम्म पनि उपचार पाउन सकेका छैनन् ।
गएको साउन १ गतेका दिन घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका झुपबहादुरको ढाड र दायाँ हात भाँचिएको थियो । तर नेपालगन्ज लिएर उपचार गरे पनि आर्थिक अभावका कारण थप उपचार गर्न नसकेपछि झुप बहादुरको जीवन जीवन मरणको दोसाँधमा रहेको छ ।
ओछ्यानमै पल्टिएपछि अहिले हात खुट्टामा घाउ आउन थालेको झुप बहादुरका बुवा प्रेम बहादुर बुढाले बताउनुभयो । ‘अलि अलि भएको पैसा पहिले नै सकियो अब उपचार गर्ने पैसा नभएर अस्पताल पुर्याउन सकेको छैन,’ प्रेम बहादुरले भन्नुभयो ।
आर्थिक समस्या भएपछि अहिले ढाडमा समेत घाउ भएको प्रेमबहादुर बुढाले भन्नुभयो । ‘अहिले त रड राखेको ठाउँमा समेत ठुलो घाउ हुन थालेको छ भएको पाँच लाख रुपैयाँ पहिले नै सकियो, छोरालाई बचाउन चाहन्छु तर उपचार गर्ने पैसा छैन,’ आँखा भरी आशु पार्दै प्रेम बहादुरले भन्नुभयो ।
छोराको दिनदिनै अवस्था दयनीय हुँदै गएपछि छोरालाई बचाई दिन सबैसँग प्रेमबहादुरले आग्रह गरेका छन् । आफुँसंँग भएको सबै सम्पत्ति नै सकिएकोले सबैले सहयोग गरेमा छोराले नयाँ जिन्दगी पाउने आसा रहेको प्रेमबहादुरको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्