लकडाउन अवधिमा दुई हजार छ सय क्विन्टल चामल बिक्री

रुकुम । रुकुम पश्चिमको मुसिकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउन अवधिमा दुई हजार बढी क्विन्टल चामल बिक्री गरेको छ ।
कोरोना महामारीका कारण गएको चैत ११ देखि सुरु भएको लकडाउन सकिएसँगै कम्पनीले दुई हजार छ सय क्विन्टल चामल बिक्री गरेको हो ।
जिल्लामा खाद्यान्न अभाव नहुने गरी लकडाउन अवधिभर पालिका स्तरमा रहेका सहकारीमार्फत खाद्यान्न आपूर्ति गरिएको खाद्य व्यवस्था कम्पनीका कार्यालय प्रमुख चन्द्रबहादुर खड्काले बताउनुभयो ।
उहाँका अनुसार जिल्लाको मुसिकोट नगरपालिका, बाँफीकोट, सानी भेरी र त्रिवेणी गाउँपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल आपूर्ति भएको हो । जसअन्तर्गत सबैभन्दा बढी मुसिकोट नगरपालिकामा खाद्य कम्पनीको चामल खपत भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल जिल्लाका विभिन्न पालिकाका छ वटा सहकारी मार्फत गाउँगाउमा पुग्ने गरेको छ ।
सहकारीले प्रतिकेजी ५० भन्दा कम मूल्यमा सात प्रतिशत र त्योभन्दा बढी मूल्य भएमा छ प्रतिशतले खाद्य व्यवस्थाको चामल उपभोक्ता सम्म पुर्याएवापत सेवा शुल्क लिने गरेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिरा मसिनो, सोना मंसुली तथा मोटो चामल उपलब्ध गराउँदै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्