तपाईँ सुन्दै हुनुहुन्छः

आठ महिनादेखि इलाका प्रशासन कार्यालय प्रमुख विहीन, सेवाग्राही मारमा

सल्यान । जिल्लाको बागचौर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय आठ महिनादेखि प्रमुख विहीन बनेको छ । ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै सेवा दिने उद्देश्यले स्थापना भएको इलाका प्रशासन कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती व्यहोर्दै आइरहेका छन् ।

इलाका प्रशासन कार्यालय थारमारेले नेपाली नागरिकताको प्रमाणपत्र, नाबालक परिचय पत्र, प्रमाणित, थर प्रमाणित, आदिवासी जनजाति, दलित प्रमाणितलगायतका सिफारिसका सेवाहरू प्रदान गर्दै आइरहेको थियो । तर पछिल्लो समय शाखा अधिकृत नहुँदा सेवा बन्द भएको इलाका प्रशासन कार्यालय थारमारेका हरि सापकोटाले बताउनुभयो ।

कार्यालयमा प्रमुख विहीन हुँदा काम गर्नसमेत समस्या भएको कार्यालयका नायव सुब्बा हरि सापकोटाले बताउनुभयो । आठ महिनादेखि प्रमुख नहुँदा वडा अध्यक्षहरूलाई जिल्लाको सिफारिस दिन आग्रह गरिएको उहाँको भनाई छ । अहिले अभिलेख भिडाउन मात्र सेवाग्राही आउने गरेको सापकोटाको भनाई छ ।

इलाका प्रशासनबाट सहजै पाइने नागरिकता लिन सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । बागचौर नगरपालिका, दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाका सेवाग्राहीलाई मध्यनजर गरी बागचौरमा २०७२ सालदेखि कार्यालय स्थापना गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले इलाका प्रशासन कार्यालय सल्यानबाट कार्यालय प्रमुखको सरुवा भए लगत्तै कर्मचारी पठाइ दिने भनेर गृह मन्त्रालयमा ताकेता गरेको जानकारी दिनुभयो । मन्त्रालयमा कर्मचारीको व्यवस्थापन गरी दिन पटक पटक पत्राचार गरी रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button