तपाईँ सुन्दै हुनुहुन्छः

बारेकोटका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण

जाजरकोट । गत असार २५ गतेको बाढी पहिरो पीडित जाजरकोटको बारेकोट गाउँपालिकाका छ सय ५० घर परिवारलाई गैर खाद्य सामग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रसलगायत सहयोगी संस्थाबाट सङ्कलन गरिएको राहत सामग्री गाउँपालिकाले आज पीडित घरपरिवारहरूलाई वितरण गरेको हो ।

तीन सय ७५ घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले उपलब्ध गराएको तीन सय ७५ थान त्रिपाल, तीन सय ५० थान कम्बल रेडक्रस जाजरकोट शाखाका मन्त्री धिरेन्द्र शाहले गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गर्नु भएको थियो ।

मन्त्री शाहले भौगोलिक विकटतालगायत कारणले गर्दा ढुवानी गर्न निकै कठिन भएको बताउनुभयो । जहाँ दुख पर्छ त्यहाँ रेडक्रस पुग्ने मन्त्री शाहको भनाई थियो । उहाँले राहत सामग्री अपुग भए तत्कालै व्यवस्थापन गर्ने पनि बताउनुभयो ।

त्यसै गरी पहाडी क्षेत्र विकास अभियान जाजरकोटका अध्यक्ष प्रदिपजंग शाहले बारेकोटको पहिरो पीडित परिवारलाई राहत वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

केयर नेपाल र पहाडी क्षेत्र विकास अभियानको समन्वयमा तीन सय ४५ सेट गैर खाद्य सामग्री कम्बल, त्रिपाल, बाल्टिन, म्याटलगायत सरसफाइको सामाग्री गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको थियो ।

दुखको बेला सबै क्षेत्रबाट सहयोग गर्न पनि अध्यक्ष शाहले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले पीडित परिवारले ढिलै भए पनि राहत पाएको बताउनुभयो ।

राहत सङ्कलन जारी रहेको बताउनु हुँदै अध्यक्ष शाहले विस्थापित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिने पनि बताउनुभयो । उहाँले तपाईँहरूको दुःखसुखमा साथ दिन स्थानीय सरकारले कुनै पनि कसर बाँकी राख्ने छैन भन्नुभयो ।

उहाँले दुख परेको समयमा सबैले सहयोग गरेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

पहिरोपीडितका लागि युनिसेफ नेपालले गैर खाद्य सामग्री उपलब्ध गरिसकेको छ ।

विश्व खाद्य कार्यक्रमले दुई महिना पुग्ने गरी सात सय ५० घरपरिवारलाई खाना पुग्ने चामल, दाल र तेलको व्यवस्था गर्न लागेको अध्यक्ष शाहले जानकारी दिनुभयो ।

विश्व खाद्य कार्यक्रमले दुई तिन दिन भित्रमा पुग्ने गरी हाइइनर्जी अर्थात् उच्च क्वालिटीको बिस्कुट विस्थापित परिवारलाई उपलब्ध गर्न लागेको पनि , अध्यक्ष शाहले बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष ओमा शाहीले वास्तविक पीडितले मात्र राहत पाउनु पर्ने बताउनुभयो ।

पहिरोको कारण तीन सय ३४ घरपरिवार विस्थापित भएका छन् । पहिरोले ५५ घर पुर्णररुपले क्षतिग्रस्त बनाएको छ । एक हजार ५५ घरपरिवार बाढी पहिरोबाट प्रभावित भएका छन् । सयौँ हेक्टरमा जमिनमा लगाएको मकै बाली, धान खेती नष्ट गरेको छ ।

बाढी पहिरोका कारण एक गाउँबाट अर्को गाउँ जाने आउने बाटो समेत बन्द भएको छ । पहिरो जाने डरले घर छोडेका स्थानीय विद्यालय, आफन्त, गोठ र सार्वजनिक चौरमा त्रिपाल टाँगेर बसेका छन् ।

बारेकोटमा बाढी पहिरोबाट ९ करोड बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ । पहिरोले ११ जनाको ज्यान जानुको साथै तीन जना अझै बेपत्ता छन् ।

राहत सहयोग पाएपछि पीडित परिवार हर्षित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button