किसानलाई बाँदर धपाउने यन्त्र

दोलखा । किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि दोलखाका विभिन्न पालिकामा बाँदर धपाउने यन्त्र वितरण गर्न थालिएको छ ।
किसानहरूको आग्रहकै आधारमा भीमेश्वर नगरपालिकाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट खरिद गरी ल्याएको यन्त्र नगरपालिकाको नौ वटै वडामा वितरण गरिएको नगरप्रमुख भरत केसीले बताउनुभयो ।
उक्त यन्त्र पड्काउँदा ठुलो आवाज आउने र त्यसले ध्वनि प्रदूषण गर्ने सम्भावना रहेकोले नगरपालिकाले वडाको जिम्मामा आवश्यकता अनुसार मात्र पड्काउने सर्तमा वितरण गरेको नगरप्रमुख केसीले बताउनुभयो ।
नगरपालिकाले सुरुमा ३० वटा यन्त्र खरिद गरेको र सो यन्त्र वडा नम्बर २, ५ र ९ मा ४/४ वटा तथा बाँकी ६ वटा वडामा तीन÷तीन वटा वितरण गरिएको नायव पशु सेवा प्राविधिक शङ्कर पाठकले बताउनुभयो । ३० वटा यन्त्रले अपुग भएपछि फेरी २० वटा थप गरिएको र त्यसलाई आवश्यकता अनुसार विभिन्न वडामा वितरण गरिएको पाठकले बताउनुभयो ।
नगरपालिकाले प्रतिगोटा २५ सय रुपैयाँमा खरिद गरेको उक्त यन्त्रमा बारुद भरेर पट्काउने र त्यसले बाँदर भाग्ने पशु सेवा प्राविधिक पाठकको भनाई छ ।
उहाँले उक्त यन्त्र पड्काउँदा २० वटा बन्दुक पड्काए जति आवाज आउने बताउनुभयो । उक्त यन्त्र पड्काएपछि बाँदरहरू पहिलेको ठाउँबाट भागेर नयाँ ठाउँमा जाने भएकोले केही चुनौती भने देखिएको पाठकको भनाई छ ।
नगरपालिकाले वितरण गरेको बाँदर धपाउने यन्त्र निक्कै प्रभावकारी देखिएको वडा नम्बर ७ मकैवारिका किसान हरिबोल बस्नेतले बताउनुभयो । उक्त यन्त्र पड्काएपछि बाँदरहरू भागेको उहाँको भनाई छ ।
त्यसै गरी दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ७ मा रहेको भद्रेश्वर कृषि सहकारी संस्थाले शेयर सदस्यहरूलाई बाँदर भगाउने यन्त्र वितरण गरेको छ ।
सहकारी संस्थाले २५ सय रुपैयाँका दरले खरिद गरेको १० थान बाँदर धपाउने यन्त्र सैलुङ गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने फस्कुका नौ वटा टोल र मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीको सिम्टेमा वितरण गरेको हो ।
त्यसै गरी दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ६ फस्कुले पनि बाँदर धपाउने यन्त्र खरिद गरेको छ । वडाले १० थान बाँदर धपाउने यन्त्र खरिद गरेको वडा अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्