एन्फाले राष्ट्रिय फुटबल टिमका खेलाडीलाई अनिवार्य क्वारेन्टिनमा राख्ने
सरकारबाट प्रशिक्षणको अनुमती पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका खेलाडीलाई अनिवार्य क्वारेन्टिनमा राख्ने भएको छ ।
सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने टिमका लागि भदौ १ बाट प्रशिक्षण सुरु गर्न स्वीकृति दिएसंगै एन्फाले खेलाडीलाई १४ दिन क्वारेन्टिनमा राखेर मात्र अभ्यास सत्र सुरु गर्ने भएको हो ।
मन्त्रिपरिषद्को निर्णयसँगै एन्फाले खेलाडीलाई साउन १६ गते भित्र उपत्यका प्रवेश गर्न सीमा तोकेको राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिुनभयो ।
गत फागुनमा ए डिभिजन लिग समाप्त भए लगत्तै एन्फाले ३४ खेलाडीलाई राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षणको लागि बोलाएको थियो । तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण प्रशिक्षण स्थगित गरिएको थियो ।
एन्फाले उपत्यका बाहिर रहेका खेलाडीको पीसीआर परिक्षण गरेर मात्र क्वारेन्टिनमा राखिने जनाएको छ । खेलाडी उपत्यका छिरे लगत्तै होटेलमा राख्ने र पीसीआर टेष्ट गरेर मात्र प्रशिक्षणको लागि तयार गरिएको एन्फा होस्टेलमा राखिनेछ ।
प्रारम्भिक टोलीमा परेका ३४ खेलाडी मध्य करिब १८ खेलाडी उपत्यका भित्रै रहेको एन्फाले जनाएको छ ।
नेपालले फिफा विश्वकप २०२२ छनोट अन्तर्गत घरेलु भुमिमा अर्काे महिना तीन खेल खेल्दैछ ।
प्रतियोगिताको छनोट अन्तरगत नेपालले चार अवे गेम खेलिसकेको छ । मैदान अभावका कारण नेपालले भुटानमा कुवेतलाई आतिथ्यता प्रदान गरेको थियो । छनोटको ५ खेलबाट नेपालले ३ अंक जोडेको छ ।
नेपाल समूह बीबाट चौथो स्थानमा छ । नेपालले दशरथ रंगशालामा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसंग खेल्न बाँकी छ । एसियाली फुटबल महासंघको पछिल्लो तालिका अनुसार दुई खेल अक्टोबर र एक खेल नोभेम्बरमा हुनेछ ।
अन्तिम तीन खेल बाँकी रहेको अवस्थामा नेपाल चौथो स्थानमा रहँदै एसिया कप छनोट खेल्न पाउने सम्भावना बाँकी छ ।








प्रतिक्रिया राख्नुहोस्