तपाईँ सुन्दै हुनुहुन्छः

पुल मर्मतपछि मौवा खोलामा साना सवारी गुड्न थाले

 धादिङ  ।  अविरल वर्षापछि बाढी पहिरो जाँदा अवरुद्ध पृथ्वी राजमार्गमा सवारी गुड्न थालेको छ । सोमबार आएको बाढी पहिरोले धादिङ र चितवनको सिमानामा रहेको मौवा खोलाको पुल बगाउँदा आवागमन पूर्ण रूपमा ठप्प भएको थियो ।

चार दिनदेखि बन्द रहेको पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मुग्लिन सडक खण्डमा शुक्रवार दिउँसोदेखि साना गाडी चल्न थालेका हुन् । बाढीले भत्काएको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरिएको छ ।

पुलको मर्मतपछि मोटरसाइकल, साना चार पाङ्ग्रे सवारी र एम्बुलेन्स लगायतका सवारी चल्न थालेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । ‘मौवा खोलामा मर्मत गरेर पुलको केही भाग बनाइएकाले साना गाडी चल्न थालेका हुन्’ उहाले भन्नुभयो, ‘अहिले पनि मर्मतको काम चलिरहेको छ, बेलुकासम्म ठुला गाडी पनि चल्ने गरी मर्मतलाई अगाडि बढाइएको छ ।’

धादिङको मौवा खोलामा रहेको पुलको केही भाग बगेपछि यो सडक खण्ड सोमबारदेखि बन्द भएको थियो भने डाइभर्सनको लागि पनि समस्या भएको थियो । पुल मर्मतको काम चलिरहेपनि पहिरोका कारण ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button