नुवाकोटका विभिन्न तीन स्थानमा पहिरो जाँदा एक जनाको मृत्यु, १० घर परिवार विस्थापित
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाको विभिन्न तीन स्थानमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने घटनामा १० घर परिवार विस्थापित भएका छन् ।
बेलकोटगढी नगरपालिका वडा नं. ८ हर्रे भन्ने स्थानमा ढुंगामाटाले बनेको घर भत्किँदा ६८ वर्षीय वृद्ध अक्कल बहादुर तामाङको मृत्यु भएको छ । शुक्रवार बिहान ३ बजेको समयमा कच्ची घर भत्किँदा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार घटना भएका बेला तामाङका छोरा बुहारी भने छुट्टै घरमा सुतेका थिए । तामाङको शव पोस्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ ।
यसै गरी सोही नगरपालिकाको वडा नं. ५ मा पहिरो जाँदा पाँच घर विस्थापित भएका छन् । पहिरोमा परी एक वटा भैँसी, तीन वटा राँगा, १८ वटा बाख्रा पुरेको र पहिरोको कारण अन्य ५० भन्दा धेरै घर जोखिममा परेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बिहान ९ः४५ बजेको समयमा दुईपिपलस्थित माझ गाउँ भन्ने स्थानमा एक्कासि पाँच सय मिटर माथिबाट आएको पहिरोले पाँच घरमा क्षति पुर्याएको छ भने ५० घर जोखिममा परेका छन् । पहिरो जाँदा स्थानीय लालबहादुर श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, तुलसीदास श्रेष्ठ, लक्ष्मी बर्देवा र रामकृष्ण श्रेष्ठको घर भत्किएको छ ।
पहिरोका कारण एउटा भैँसी र बाख्रा मर्नुका साथै अन्नपात, लत्ता कपडा पुरिएको स्थानीय रेडक्रसकर्मी तथा शिक्षक नारायणप्रसाद दाहालले बताउनुभयो ।
घटना लगत्तै उद्दारको लागि जवरजंग गण देवी घाट ब्यारेकबाट ४० जनाको सैन्य टोली परिचालन भएको नेपाली सेनाले जनाएको छ । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै वडा नं. ५ कै दाहाल थोक नजिकै पहिरो जाँदा थप चार घर जोखिममा परेको छन् ।








प्रतिक्रिया राख्नुहोस्