तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले जनजीवन अस्तव्यस्त

पाल्पा । अविरल वर्षाले जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । जताततै पहिरो खसेका छन् । ग्रामीण क्षेत्रका सडकहरूमा यात्रा गर्न जोखिम छ । पानी चुहिने विपन्न परिवारको घर भत्केका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडक खण्ड गएको दुई सातामा आधाभन्दा धेरै समय अवरुद्ध रह्यो । यात्रुहरूलाई आवतजावतमा आवतजावतमा कठिनाइ भएको छ । प्रहरीका अनुसार जिल्लाका धेरैजसो सडक खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

रिब्दीकोट गाउँपालिका भैरवस्थान हटियाका बिष्णु कार्की घर नजिकै खसेको पहिरोले जोखिममा परेपछि समस्यामा हुनुहुन्छ । घर छेउबाटै पहिरो खसेपछि उहाँको घर पनि पहिरोले लैजाने हो की भन्ने चिन्तामा रहेको कार्कीले बताउनुभयो ।

तानसेन–७ चुच्चेवारीको अधिकांश खेतमा खोला पसेर धानबाली बगाएपछि किसानहरू समेत चिन्तामा छन् । खोलाको पानी खेतमा पसेपछि स्थानीय समस्यामा परेका छन् । “धेरै पानी परेपछि खोलो खेतमा पस्यो । सबै धान तहसनहस पार्‍यो ।” तानसेन ८ का श्रीधर भट्टराईले बताउनुभयो । “बर्खा नलाग्दै स्थानीय तहले खोलो व्यवस्थापनमा जुटेको भए सर्वसाधारणको खेत तहसनहस हुने थिएन ।” उहाँले भन्नुभयो ।

खोलाको धार परिवर्तन भएर किसानको सयौँ रोपनी धान बाली कटानमा परेको भट्टराईले बताउनुभयो । अत्यधिक वर्षाले कतिपय स्थानमा भने रोपाइँ समेत हुन सकेको छैन ।

तानसेन नगरपालिका वडा नं. १० तेल्घाका रिखिराम पाण्डे, जिवलाल पाण्डेय र जनक पौडेलको घर भत्किएको छ । वर्षाका कारण घरमा बस्नै नमिल्ने गरी घर भत्किएको स्थानीय खेमराज पाण्डेले बताउनुभयो । “एकोहोरो परेको पानीले घर भत्कियो । पहिरो पीडितहरू छिमेकीकोमा बास बस्नुभएको छ ।” पाण्डेयले भन्नुभयो ।

बर्खाकै कारण घर जोखिममा परेपछि तानसेन–८ पिपल डाँडाका मानबहादुर हिस्की पनि छिमेकीको घरमा बास बस्नुभएको छ । “बर्खाको बेला खसेको पहिरोले घर बासै खेद्यो । स्थानीय तहबाट एउटा त्रिपाल बाहेक अरू राहत हात परेको छैन । बुढी आमा, सानो छोरो र श्रीमती सहित अन्यत्र बास बस्नुपर्दा निकै अप्ठेरो भइरहेको छ ।” हिस्कीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button