कोरोना सङ्क्रमणबाट वीरगंजमा थप एक महिलाको मृत्यु

बीरगंज । वीरगंजको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा आज दिउँसो उपचारको क्रममा कोरोना सङ्क्रमणको कारण एक बृद्धाको मृत्यु भएको छ ।
बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुर निवासी ८५ वर्षीय तपसिया देवी को कोरोना सङ्क्रमणको कारण उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको कोरोना अस्पताल गण्डकका वरिष्ठ चिकित्सक डा.निरज सिंहले जानकारी दिनुभयो ।
मृतक महिला मुटु रोगी रहेको र विगत केही दिन अगाडी निमोनिया भएर उनी वीरगञ्ज स्थित एडभान्स मेडिकेयर अस्पतालमा उपचारको लागि भर्ना भएकी थिइन् । वृद्ध महिलालाई निमोनियाको उपचारसँगै पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएकोमा गत साउन ७ गते कोरोना उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि हिजो उपचारका लागि एडभान्स मेडिकेयर अस्पतालबाट अस्थायी कोभिड गण्डक अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको अवस्थामा आज दिउँसो मृत्यु भएको डा. सिंहले जानकारी दिनुभयो ।
मृतक महिलाको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको डा.सिंहले बताउनुभयो । यसअघि गए राति बीरगंजको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा प्रहरी हिरासतमा रहेका पाच जना थुनुवासहित ३२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । ३२ जनामध्ये स्वेच्छाले पीसीआर परीक्षण गराएका नौ जनामा समेत कोरोना सङ्क्रमण देखिएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरको हिरासतमा रहेका ५ जना थुनुवा भारतीय नागरिक रहेका छन् । प्रहरी हिरासत कक्षमा रहेका ७ थुनुवामध्ये ५ जनामा कोरोना सङ्क्रमण भेटिएपछि वडा प्रहरी कार्यालय श्रीपुर ’सिल’ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।
यसै गरी वीरगन्जमा भयावह रूपमा बढ्दै गएको कोरोना सङ्क्रमितको कारण महानगर क्षेत्र भित्र रहेका नारायणी अस्पतालसहित सम्पूर्ण निजी अस्पताल, निजी क्लिनिक तथा मेडिकल कलेज लगायतले आजबाट आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेको नेपाल चिकित्सक सङ्घ नारायणीले जनाएको छ ।
सङ्घका सचिव डा. उदयनारायण सिंहले एक प्रेस विज्ञप्ति जारी गर्दै जनतामा हुने असुविधा प्रति क्षमा याचनसहित अर्को सूचना नआएसम्मका लागि आजबाट बीरगंजको नारायणी अस्पतालसहित निजी क्षेत्रका सम्पूर्ण अस्पतालहरू, क्लिनिक,मेडिकल कलेजको आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्