सडक मर्मत नहुँदा तातोपानी नाकाबाट आयात ठप्प

सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेदेखि तातोपानीसम्मको सडक खण्ड कटान गरेपछि बल्ल बल्ल खुलेको नेपाल चीन व्यापारीक नाका तातोपानी फेरी बन्द भएको छ ।
सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडक खण्ड मर्मत हुन सकेको छैन । चीनमा कोरोना (कोभिड(१९)को संक्रमण बढेपछि २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुन सञ्चालनमा आएको थियो । सडक अवरुद्घ बनेसँगै नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् । तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले नाकाबाट आयात ठप्प रहेको बताउनुभयो ।
भन्सार तथ्यांकअनुसार गत वर्षको बितेको ११ मध्ये नाका चलेको नौ महिनामा तातोपानी भएर साढे नौ अर्व रुपैयाँ मूल्यका सामग्री आयात भएको थियो ।
अहिले झण्डै ६ करोड रुपैयाँ बराबरका सामग्री रोकिएको भन्सार प्रमुख खत्रीले जानकारी दिनुभयो । रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान रहेकाछन् ।
केही दिन अघि आएको बाढीपहिरोले सडक कटान पछि एम्बुलेसन्स लगायत अतिआवश्यक सवारी साधनहरु समेत सञ्चालन हुन नसकेपछि बाह्रविसे नगरपालिकाले जुरेमा तत्कालै सडक मर्मत गरेर यातयातका साधन सञ्चालन गरेपनि त्यहाँभन्दा माथी भने समस्या देखिएको छ ।
सडक कार्यालय चरिकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरेपनि स्काभेटर बिग्रिएपछि समस्या भएको बाह्रविसे नगर पालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो । सडक कार्यालयले बिग्रिएको सडक सुधार गर्न प्रभावकारी काम नगरेपछि तातोपानी नाकामा व्यापार व्यावसाय गर्दै आएका व्यापारीहरुले नै स्काभेटर प्रयोग गरिरहेका छन् । त्यस्तै बाह्रविसे नगरपालिकाले पनि एउटा स्काभेटर प्रयोग गरेर सडक सुधार गर्न खोजेपनि सडक कार्यालय चरिकोटले सहयोग नगरेको प्रमुख शेर्पाले गुनासो गर्नुभयो ।
बाढीपहिरोले क्षति बनाएको सडक तत्काल सुधार गर्नका लागि एक साता अघि सभामुख अग्निप्रसाद सापकोटाले सडक विभागका अधिकारीहरुलाई निर्देशन दिएपनि निर्देशन अनुसार कामै नभएको शेर्पाले दुःखेसो गर्नुभयो ।
२/३ दिनमै बाह्रबिसे देखि जम्ब सम्मको बाटो छिचोलिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख विजय महतो बताउनुहुन्छ । उहाँका अनुसार बाह्रबिसेदेखि जम्बुसम्म ४ किलोमिटर दुरी पर्दछ । सडकडिभिजनको स्काभेटर बिग्रेका कारण काममा केही ढिला भएको डिभिजन प्रमुख महतोले बताउनुभयो । अब निरन्तर बाटो खन्न खटिने उनले जानकारी दिनुभयो ।
भोटेकोशी नदीले कटान गरेको खुर्सानीबारी नजिकैको सडक सुधार गरेर सवारी साधान सञ्चालन सुरु भइसकेको छ । खागदलमा पनि सडक मर्मत गरेर अहिले राजमार्गको सबैभन्दा बढी जोखिम रहेको सिरीसेमा सडक कार्यालय, बाह्रविसे नगरपालिका र व्यापारीहरुको सहित तीन वटा स्काभेटर लगाएर सडक मर्मत सुरु गरिएको छ । तर सडक कार्यालयको स्काभेटर बिग्रीएपछि दुइ वटा स्काभेटरले मात्रै काम गर्दा ढिलाई भएको प्रमुख शेर्पाले बताउनुभयो ।
‘जम्बु बजारमा केही थान जाली र हेमपाइप हाल्दा अस्थाई रुपमा सडक सुधार गरेर सञ्चालन गर्न सकिन्छ तर यस्ता सामान्य कुरमा पनि सडक कार्यालयले चासो दिएन, विपत्तीमा पनि सडक कार्यालय कानमा तेल हालेर बस्यो’, प्रमुख शेर्पाले भन्नुभयो । ‘सडक कार्यालयले हामी गर्न सक्दैनौँ भनेर हामीलाई भन्नु प(यो । हाम्रो स्रोतले सक्ने काम हामी गछौ, काम गर्ने हो भने प्रभावकारी रुपमा गर्नु पर्यो’, मेयर शेर्पाले भन्नुभयो।








प्रतिक्रिया राख्नुहोस्