बाग्मती प्रदेशसभाको बर्षे अधिवेशन आज रातिबाट अन्त्य हुँदै

मकवानपुर । बाग्मती प्रदेशसभाको चालु बर्षे अधिवेशन बिहीबार (आज) मध्यरातबाट अन्त्य हुने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मूख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बजेट अधिवेशन आह्वान र अन्त्य गर्ने अधिकार प्रदेश प्रमुखलाई छ । मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने पत्र प्रदेशसभामा पठाएपछि अधिवेशन अन्त्य हुने प्रावधान अनुसार प्रदेशसभा सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेशसभाको छैठौं अधिवेशन आज रातिबाट अन्त्य हुने जानकारी दिनुभयो । प्रदेश प्रमुखबाट अधिवेशन अन्त्य भएको पत्र प्राप्त भइसकेको र सोही अनुसार प्रक्रिया पूरा गरी सूचना जारी गरिएको उहाँले बताउनुभयो ।
गत जेठ १२ गतेबाट सुरु भएको अधिवेशनले बाग्मती प्रदेशको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । कोरोना महामारीका बीच सञ्चालन भएको बैठकले ९ वटा विधेयकहरु पारित गरेको छ । बाग्मती प्रदेश सरकारले महत्वपूर्ण ऐनको रुपमा हेरिएको प्रदेश प्रहरी सम्बन्धी ऐन तयार गरेको बाग्मती प्रदेशसभाले २ वटा अध्यादेशहरु समेत पारित गरेको छ ।
त्यसैगरी प्रदेशसभाले आर्थिक ऐन, विनियोजन ऐन, प्रदेश सूचनाको हक सम्बन्धी ऐन, अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा र व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सरकारले अध्यादेशबाट आएको आर्थिक कार्यविधि ऐन संशोधन गर्न बनेको विधेयक पनि पारित भएको छ भने, प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने विचाराधीन अवस्थामा रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्