तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक स्थलहरुको अतिक्रमित जग्गाबारे सत्यतथ्य पत्ता लगाउन अन्तराष्ट्रिय सम्बन्ध समितिले निर्देशन

काठमाडौं । पशुपतिनाथ, चाँगुनारायण र जानकी मन्दिर लगायतका देशभरका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण समस्या सम्बन्धमा सत्य तथ्य पत्ता लगाई समाधान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तराष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तराष्ट्रिय सम्बन्ध समितिको पुरातात्विक महत्वका स्थानहरुको संरक्षण सम्बन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको बैठकले मुलुकमा रहेका धार्मीक ,सांस्कृतिक र पुरातात्विक महत्वका स्थलहरुको जग्गा अतिक्रमण भएको सुन्नमा आएको भन्दै सत्य तथ्य पत्ता लगाई समाधान गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकमा विद्यालय र विश्वविद्यालय तहमा कला र सिप सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने, पुरातात्विक महत्वका सम्पदाहरु, प्रादेशिक स्मारक र अभिलेखहरुको संरक्षणका साथै खोज अनुसन्धानमा पुरातत्व विभागको संलग्नता सहीत यूनेस्कोको मान्यतालाई आत्मसाथ गरिएको गुरुयोजना बनाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भटराईले धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका स्थलहरुमा भईरहेको जग्गा अतिक्रमण रोक्न पहल गरिने बताउनुभयो ।

मन्त्री भटराईले मुलुकको विकासका लागि सडक र पूर्वाधार संगै पुरातात्विक सम्पदाको खोज अनुसन्धान र अभिलेख राख्ने कार्यलाई पनि व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button