तपाईँ सुन्दै हुनुहुन्छः

सिमसारको लागि खनेको खाल्डोको पानीमा डुबेर झापामा तीन बालकको मृत्यु

भद्रपुर, झापा । झापाको भद्रपुरमा सिमसारका लागि खनिएको खाल्डोको पानीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ ।

भद्रपुर–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रमा खनिएको खाल्डोमा माछा मार्नेक्रममा डुब्दा स्थानीय अनिल तामाङका १० वर्षीय छोरा अंकुश तथा कमला थामीका दुई छोरा १४ वर्षीय करण र १२ वर्षीय अर्जुन थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार दिउँसो पोखरीमा माछा मार्न र पौडी खेल्न गएका तीनै जना बालक मृत अवस्थामा फेला परेका थिए । अबेरसम्म तीनै जना घर नफर्किएपछि खोजी गर्नेक्रममा साँझ ७ बजेतिर तामाङको शव फेला परेको थियो भने थामी दाजुभाइको शव प्रहरीको उद्धार टोलीले आज बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

आफ्ना दुई छोरा गुमाएकी कमलाका आँसु थामिएका छैनन् भने तामाङका परिवार पनि उत्ति नै शोकमा रहेका छन् ।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा तीन जना बालकको डुबेर मृत्यु भएसँगै पीडितका आफन्तजन र स्थानीयले निर्माण कम्पनीप्रति आक्रोश पोखेका छन् । उनीहरूले निर्माण कम्पनी आर एन्ड सी नयाँ युग जेभीको लापरबाहीका कारण घटना भएको बताएका छन् ।

निर्माणका क्रममा आवश्यक सुरक्षाका मापदण्ड नअपनाइएको स्थानीयको गुनासो छ । कमलधाप पर्यटन क्षेत्र निर्माणका लागि भद्रपुर नगरपालिकाले चार करोड ३८ लाख तीन हजार पाँच सय ७९ रुपैयाँमा उक्त कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

पीडित परिवारले कानुनी उपचार खोज्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button