तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा एकै दिनमा १४ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीमा एकै दिनमा १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार गजेन्द्र नारायण सिंह अस्पताल तथा बिराटनगरस्थित पिसिआर परिक्षण प्रयोगशालाबाट प्राप्त रिपोर्टले कोरोना संक्रमणको रिपोर्टबाट गत बिहीबार निधन भएका राजविराजका व्यवसायीको सम्पर्कमा आएका १० जनासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गजेन्द्र नारायणसिंह अस्पताल हाताभित्र संचालित पोषण गृहकी एक महिला स्वास्थ्यकर्मीसहित राजविराज नगरपालिका वडा नं. २, ३, ६ र ७ का ६ महिला तथा ६ पुरुष तथा जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिकाका एक पुरुष गरि १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

संक्रमित हुनेहरुमा गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत एक जना सफाईकर्मी पनि रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ४ सय ४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो । कोरोना संक्रमणबाट निधन भएका व्यवसायीका परिवारका ५ जना सदस्य, दुई जना कामदार र दुई जना छिमेकीमा पनि यस अघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमणबाट मृत्यु भएका तथा उनका परिवारजनको सम्पर्कमा रहेकाहरु कतिपयको परिक्षण रिपोर्ट नआएको तथा परिक्षण नै नगराई कतिपय खुल्ला रुपमा डुलिरहेको बुझिएपछि नगर क्षेत्रमा त्रास फैलिएको हो ।

मृतकको सम्पर्कमा आएका तथा मृतक परिवारसँग भेटघाट गर्न गएकाहरुमा समेत ठूलो संख्यामा संक्रमणको पुष्टि भएपछि राजविराजमा नगर क्षेत्रमा त्रास फैलिएको छ । कम मात्रामा परिक्षण भएपनि जिल्लामा हालसम्म ४ सय ४ जना संक्रमण देखि सकिएको र दिनहुँ संक्रमित फेला पर्न थालिएपछि पिसिआर परिक्षणको दायरा बढाउन र लकडाउनमा कडाई गर्न स्थानियले माँग गरेका छन् ।

यता गजेन्द्र नारायण सिंह अस्पतालका सफाइकर्मी तथा सोही अस्पताल हाताभित्र संचालित पोषण गृहका स्वास्थ्यकर्मीमा समेत संक्रमण पुष्टि भएपछि अस्पताललाई सेनिटाइज र पोषण गृहलाई सिल गर्ने तयारी थालिएको स्थानिय प्रशासनले जानकारी दिएको छ ।

यस्तै संक्रमित पुष्टि भएका एक दम्पत्तिकी छोरी सनराईज बैंकमा कार्यरत रहेकाले उक्त बैंक पनि सिल गरिएको छ । पछिल्लो दुई दिनमा संकलित २ सय ५१ जनाको पिसिआर रिपोर्ट आउन अझै बाँकी रहेको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिनु भयो ।

नगरमा दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि राजविराज नगरपालिकाले बुधबारदेखी नगर क्षेत्रभित्र पूर्ण लकडाउनको घोषणा गरि सोको पालना गर्न एक सूचनामार्फत आग्रह गरेको छ । नगर प्रमुख शम्भुप्रसाद यादवले नगर क्षेत्रमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अनिश्चितकालका लागि पूर्ण लकडाउनको निर्णय गरिएको बताउनुभयो ।

उहाँले समुदायस्तरमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएको बताउँदै सबैलाई सचेत र उच्च सतर्कता अपनाउन सूचना मार्फत अपिल समेत गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button