सप्तरीमा कोरोना समुदायमा पुगेको पुष्टि
सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा कोरोना सङ्क्रमण समुदायमा पुगेको पुष्टि भएको छ । बुधवार राजविराजका १३ सहित थप १४ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि कोरोना समुदायमा पुगेको पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार बुधवार राजविराज ३ का ६३ र ३२ वर्षीय पुरुष, राजविराज–७ का २० वर्षीय पुरुष, राजविराज–६ का ४० वर्षीय पुरुष, राजविराज–३ का २३ वर्षीय पुरुष, राजविराज–६ का ३६ वर्षीय महिला, राजविराज –२ का ३१ वर्षीय पुरुष, राजविराज–६ का ३२ वर्षीय महिला, राजविराज–६ का ४३ वर्षीय पुरुष, राजविराज–७ का ४०, १७, १५ र १५ वर्षीय महिला तथा अग्निसाईर कृष्णसवरण गाउँपालिका–१ का एक पुरुषलाई सङ्क्रमण देखिएको छ ।
सङ्क्रमित मध्ये एक जना गजेन्द्रनारायण सिंह अस्पतालको इमरजेन्सी वार्ड र एक जना अस्पताल भित्रकै पोषण पुनर्स्थापना केन्द्रमा कार्यरत कर्मचारी रहेको जनाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बुधवारदेखि कोरोना समुदाय स्तरमा पुगेको पुष्टि गर्नुभयो ।
दुई सय ७२ जना कोरोना सङ्क्रमणको उपचारपछि डिस्चार्ज
सप्तरीमा २२ महिलासहित दुई सय ७२ जना कोरोना सङ्क्रमणको उपचारपछि डिस्चार्ज भएका छन् ।जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार मङ्गलवारसम्म दुई सय ७२ जना कोरोना जितेर घर फर्किएका हुन् ।
राजविराजका महिलासहित १४, कञ्चनपुरका दुई, डाकनेश्वरीका एक महिलासहित १२, वोदेवरसाईनका एक महिलासहित ३३, खड्का सात, शम्भुनाथका दुई, सुरुङ्गाका एक महिलासहित १२, हनुमान नगरका एक महिलासहित ५१ र सप्तकोसी नगरपालिकाका दुई जना कोरोना सङ्क्रमित निको भएपछि डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो ।
यसै गरी, राज गढका १९, अग्निसाईर कृष्णसवरणका चार, छिन्नमस्ताका दुई महिलासहित २६, महदेवाका तीन महिलासहित १३, तिरहुतका चार, तिलाठी–कोईलाडीका सात महिलासहित ३७, रुपनीका एक, विष्णुपुरका एक र वलान विहुल गाउँपालिकाका चार महिलासहित ३२ जना सङ्क्रमण मुक्त भएको यादवले बताउनुभयो ।
सङ्क्रमण भएर आइसोलेसनमा राखिएका उनीहरूको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सङ्क्रमित मध्ये एक जनाको साउन १ गते उपचारकै क्रममा धरानमा मृत्यु भएको छ । सप्तरीमा एक सय १७ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । जिल्लामा एक सय ७८ बेडको आइसोलेसन बेड रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्