राजधानी भित्रिने नाका ठप्प, बाढी पहिरोले पृथ्वी राजमार्ग क्षतिग्रस्त

धादिङ । बाढीले पुलछेउको राजमार्ग कटान गरेपछि सोमबार अपरान्हदेखी राजधानी भित्रिने नाका पुर्णरुपमा ठप्प भएको छ । राजधानी भित्रिने प्रमुख नाकाको रुपमा रहेको पृथ्वीराजमार्गको मौवाखोलामा अविरल बर्षापछि आएको बाढीले राजमार्गको करिव ५ मिटर जमिन कटान गरेको छ भने मौवाखोला पुलमा समेत क्षति पु¥याएको छ ।
देशका अधिकांश जिल्लालाई राजधानीसंग जोड्ने पृथ्वीराजमार्ग अन्र्तगत धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोला पुलको धादिङतर्फको भुभाग बाढीले कटान गरेपछि राजमार्ग संचालनमा आउन सकेको छैन ।
लगातार पानी परिरहेको कारणले गर्दा मौवाखोलाको खहरे भेलमा पानीको बहाव कम नभएकाले थप क्षति हुन नदिनका लागि डाइभर्सन बनाउन पनि नसकिएको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कृष्ण अधिकारीका अनुसार मौवाखोलामा पानीको बहाव कम नभएकाले खोलामै पसेर पुलको प्राविधिक अध्ययन गर्न समेत अप्ठ्यारो भएको बताए ।
सडक सुचारु गराउनको लागि बेलिव्रिज हाल्ने, डाइभर्सन बनाएर खोलाबाटै सडक खन्ने जस्ता विकल्प रहेपनि चाँडै सडक सुचारु गराउनको लागि ग्याविन जाली लगाएर भाटो भर्नु नै उपयुक्त विकल्प रहेको अधिकारीले बताए ।
सडक भत्किएर सवारी आवागमन ठप्प भएपछि राजधानीबाट पृथ्वीराजमार्ग हुदै बाहिरिने सवारी साधनहरुलाइ सोमबार अपरान्हदेखि नै नागढुङगाबाटै फर्काइएको थियो । त्यस्तै मुग्लिनतर्फबाट आएका सवारी साधनहरुलाइ मुग्लिन नै फिर्ता पठाइएको प्रजिअ तामाङले बताए ।
मौसम सुधार भएको खण्डमा राजमार्गको सवै ठाउँमा झरेको पहिरो पुर्ण रुपमा हटाई दुइतर्फी नै सवारी आवागमन गराउन २ दिन लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । मौवाखोला, तिक्राङ, जवाङखोला लगायतको ठाउँमा ठुला चट्टानहरु राजमार्ग छेउमै थुप्रिएकाले डोजर लगाएर हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख नेत्र भट्टले जानकारी दिए ।
सोमबार राजमार्गमा झरेको पहिरोले ४ वटा गाडी बगाएर बेपत्ता बनाएको थियो भने ४ वटा गाडी पहिरोले पुरेको थियो । पहिरोले पुरेका ४ वटै गाडीलाइ निकालि सकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्