प्रदेश ५ मा ७० प्रतिशत बजेट खर्च
बुटवल, रुपन्देही । कोभिड–१९ को महामारीका वावजुद प्रदेश ५ सरकारले गत आर्थिक वर्ष २०७६÷०७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ ।
जसमध्ये पूँजीगततर्फ ७९ दशमलव २९ र चालुतर्फ ६० दशमलव ५४ प्रतिशत खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता जनार्दन पौडेलले जानकारी दिनुभयो ।
गतवर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंया विनियोजन भएको थियो । सात प्रदेशमध्ये प्रदेश ५ मा पूँजीगत तर्फ सबैभन्दा धेरै खर्च भएको छ । मन्त्रालयगत विवरण अनुसार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ५२ दशमलव ६०, आर्थिक मामिला तथा योजना मन्त्रालयले ४१, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले ६९ दशमलव ५८, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४१ दशमलव ५५ प्रतिशत खर्च गरेका छन् ।
त्यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३२ दशमलव ९९, भौतिक पूर्वाधार विकास मन्त्रालयले ८३ दशमलव १८, सामाजिक विकास मन्त्रालयले ७६ दशमलव ८६, मुख्य न्यायाधिवक्ताको कार्यालयले ६७ दशमलव ९१ प्रतिशत खर्च भएको छ । त्यसैगरी प्रदेशको आन्तरिक राजस्व लक्ष्यको ७३ दशमलव ९३ प्रतिशत संकलन भएको छ ।
प्रदेश सरकारले ४ अर्ब १२ करोड २५ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा ३ अर्ब ४ करोड ९१ लाख १२ हजार ९ सय संकलन गर्न सफल भएको छ ।








प्रतिक्रिया राख्नुहोस्