पृथ्वी राजमार्गको मौवाखोला पुल भत्कियो, पहिरोले घर पुर्दा १ को मृत्यु
धादिङ । देशका अधिकांश जिल्लालाइ राजधानीसंग जोड्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोला पुलमा अविरल बर्षापछि आएको बाढीले क्षति पुर्याएको छ ।
निरन्तरको वर्षाका कारण उर्लिएको मौवाखोलाले स्थानीय अमृतबहादुर गुरुङ सहित ३ वटा घर बगाएको हो भने चितवन जोड्ने मौवाखोला पुलको धादिङ तर्फको पिल्लरबाट पानीले खोल्दा सडकको पीच कटान भैसकेकोले पुल समेत जोखिममा परेको छ ।
पुलको धादिङ तर्फको छेउको भुभाग खहरे खोलाले बगाए पछि सडक र पुलको वीचबाट खोला बगेकाले सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिए ।
त्यस्तै बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १० कै बाँदरे भीरमा सडक माथीबाट आएको पहिरोले ३ वटा गाडी बगाएर त्रिशुली नदिकिनारमा पुर्याएको छ भने अन्य ४ वटा गाडी पुरेको छ । घटनामा कुनैपनि मानविय क्षति भने नभएको प्रहरी जानकारी दिएको छ ।
गएरातीदेखिको अविरल बर्षाको कारण धादिङको २ दर्जन भन्दा बढी ठाउँहरु पहिरो भएको छ भने गजुरी गाउँपालिकाको वडा नं २ मजुवाडाँडामामा ६ वटा घर पुरिएको छ । पहिरोमा परि स्थानीय निरुता परियारको मृत्यु भएको छ । घटनामै सिन्धुलीका जितेन चौधरी घाइते भएका छन् ।
त्यस्तै बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ८ मा पहिरोले १ घर भत्किदा ५ बर्षिय बालिका गम्भीर घाइेत भएकी छिन् । उनको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
पृथ्वी राजमार्गकै बैरेनी, चालिसे, छहरे, मौवाखोला लगायतको क्षेत्रमा राजमार्ग भन्दा माथिबाट लेते आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षापछि आएको खहरे भेल पस्दा गजुरी गाउँपालिकाको कार्यलय भवन डुवानमा परेको छ । भलसंगै आएको लेते पहिरोले पालिकाको पहिलो तल्लाका कोठाहरुमा क्षति पुगेको गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए ।
त्यस्तै गजुरी गाउँपालिकाकै वडा नं ६ स्थित बेल्खुमा पहिरो जाँदा ३३ के भि लाईनको पोल बगाएकोले जहरे सबस्टेशन बाट वितरण भएको विद्युत सेवा पनि अवरुद्ध भएको छ ।
पहिरो गएको ठाउमा पोल फेर्नु पर्ने भएकाले लगातार पानी परिरहेको कारण तत्कालै काम सुरु गर्न असहज भएको विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ । पोल ढलेका कारण आदमघाट, पिडा र गजुरी आसपासमा पुर्ण रुपमा विद्युत सेवा बन्द भएको छ ।
त्यस्तै मलेखु धादिङको कालुपाण्डे राजमार्गको विभिन्न ठाउँमा खसेको पहिरोले राजमार्ग पुर्ण रुपमा बन्द भएको छ । सवै ठाउँको पहिरो हटाएर सवारी आवागमन सहज बनाउन लगातार परिरहेको पानी र खसिरहेको पहिरोले समस्या भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्