सङ्क्रमितको उपचारका लागि आइसोलेसनमै खटिएका डाक्टरमा कोरोना पुष्टि

स्याङ्जा । स्याङ्जामा कोरोना निको हुने सङ्ख्या बढिरहँदा सङ्क्रमितको उपचारमा खटिएका डाक्टरलाई नै कोरोना पोजेटिभ देखिएको छ । गल्याङ अस्पतालको आइसोलेसनमा सङ्क्रमितको उपचारमा खटिएको ३२ वर्षीय डाक्टरमा कोरोना पुष्टि भएको हो ।
आइसोलेसनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षा कर्मी, सरसफाइ कर्मी, भान्छे गरी १९ जनाको स्वाब लिइएर परीक्षण गरिएकोमा एक जना डाक्टरमा मात्र कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।
जिल्लाका पछिल्लो परीक्षणको नतिजा अनुसार डाक्टरलाई देखिने बित्तिकै समुदायमा फैलिसकेको अवस्था नरहेको उहाँको दाबी छ । प्रमुख शर्माले भन्नुभयो, ‘जिल्लाका अन्य कन्ट्रयाक टने«सिङ हेर्दा डराइहाल्नुपर्ने अवस्था छैन् । १५ देखि २० मिनेटसम्म एक मिटरभन्दा नजिकको दुरीमा रहेमा सङ्क्रमण सर्ने अवस्था हुन्छ ।’
डाक्टरको सम्पर्कमा आएका केही बिरामीहरू र अन्य गरी करिब १० जनाको लिष्टिङ भइसकेको भन्दै प्रमुख शर्माले उनीहरूको स्वाब लिने तयारी भइरहेको उहाँले बताउनुभयो । प्रारम्भिक परीक्षणको नतिजाले समुदायमा गए नगएको पत्ता लगाउन सकिने उहाँले बताउनुभयो ।
असार २ गते आइसोलेसन बनाएसँगै उपचारमा खटिनुभएका सङ्क्रमित डाक्टर अहिले आइसोलेसनमा हुनुहुन्छ । डाक्टरलाई पोजेटिभ देखिएपछि अहिले अस्पताल सिल गरिएको छ । डाक्टरसँगै स्याङ्जामा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ९८पुगेको छ ।
यहाँ दुई जना सङ्क्रमितको मृत्यु भइसकेको छ भने एक सय ८३ जना निको भएर घर फर्किएका छन् ।








प्रतिक्रिया राख्नुहोस्