५८ औँ ईन्जिनियर्स दिवस : खुट्टाले चलाएर हात धुने मेसिन सहयोग

सुर्खेत । नेपाल इन्जिनियर एसोसिएसन कर्णाली प्रदेशले सुर्खेत र दैलेखका चार स्थानमा आधुनिक प्रविधिको धारा निर्माण गरी सहयोग गरेको छ ।
एसोसिएसनले आफ्नो ५८ औँ ईन्जिनियर्स दिवसको अवसर पारेर सुर्खेत र दैलेखमा खुट्टाको प्रयोग गरेर हात धुन सकिने आधुनिक प्रविधिको धारा सहयोग गरेको हो ।

कोरोना भाइरस रोकथामका लागि सहयोग पुर्याउने उद्देश्यले खुट्टाले चलाएर हात धुने मेसिनसहित स्याम्पुलगायतका सहयोग सामाग्री शनिवार सुर्खेतको वीरेन्द्र चोक र कृषि हाट बजारका लागि नगरपालिका–६, नम्बर वडा अध्यक्ष मोतिप्रसाद कँडेललाई हस्तान्तरण गरिएको एशोसिएसनका केन्द्रीय सदस्य कृष्णप्रसाद पाण्डेले बताउनुभयो ।

उहाँले ईन्जिनियर्स दिवसको अवसरमा खुट्टाको प्रयोग गरेर हात धुन सकिने (फुड अप्रेड ह्यान्ड वास मेसिन) सुर्खेत र दैलेखसँगै वीरेन्द्रनगरस्थित बृद्धाआश्रमका आमा बुवाहरूलाई फलफूलसँगै खाद्यान्न सहयोग गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार दिवसकै अवसरमा प्रदेश भरी विभिन्न रचनात्मक गतिविधिसँगै अनलाइन अन्तरक्रियालगायतका कार्यक्रम गरिएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका–६, नम्बर वडा अध्यक्ष कँडेलले इन्जिनियर एसोसिएसनलाई सहयोग गरेकोप्रति धन्यवाद दिँदै सजिलै हात धुने सुविधा लिन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

उहाँका अनुसार ६ नम्बर वडाका वीरेन्द्रनगर चोक र कृषि हाट बजारमा राखिएको उक्त मेसिनमा बायाँ गोडाले थिच्दा स्याम्पु र दायाँ गोडाले थिच्दा पानी निस्कन्छ । गोडाको प्रयोग गरी सजिलै हात धुन सकिन्छ । खुट्टाले थिच्दा साबुन पानी आउने औजार कोरोना भाइरस सकिएपछि पनि उपयोगी हुने इन्जिनियर टिकाराम पोखरेलले बताउनुभयो ।
उहाँले ईन्जिनियर्स दिवसको अवसर पारेर हातले पटक पटक पानीको धारा र ह्यान्ड बास छुँदा ब्याक्टेरिया सर्न सक्ने जोखिम भएकाले खुट्टाले चलाउने प्रणालीबाट बनाइएको मेसिन सर्वसाधारणका लागि सहयोग गरिएको जनाउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्