छाडा पशु चौपायाबाट धानको ब्याड बचाउन खेतमै बास

सल्यान । छाडा पशुचौपायले रोप्न तयार भएको धान ब्याड खान थालेपछि सल्यानका किसानहरू खेतमा बास बस्न बाध्य भएका छन् । रोप्नका लागि तयार भएको धानको ब्याड छाडा पशु चौपायाले खान थालेपछि बनगाड कुपिण्डेका किसानहरू खेतमा बास बस्न बाध्य आइरहेका छन् ।
मानो रोपेर मुरी फलाउने धानको ब्याड नै छाडा पुशचौपायाले खान थालेपछि पालो लगाएर बारीमै बास बस्न थालेको बनगाड कुपिण्डे नगरपालिका–१ का राजु बुढाले बताउनुभयो । उहाँले भन्नुभयो ‘पानी परी राखेकाले खेत चिसो छ तर पनि राती नबसे राति छाडा गाईले खेतमा पसेर ब्याड स्वाहा पारी दिन्छन् ।’ वर्षे बाली मात्र नभएर बाह्रै महिना यहाँका किसानले छाडा पशुचौपाय धपाउन चौकीदारी गर्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
छाडा चौपायाका कारण वर्ष भरी खाने धानका लागि तयार पारिएको ब्याड चौपायाले खानेभएकाले रातभर खेतमा जागराम बस्नु पर्ने बाध्यता रहेको अर्का किसान भोला प्रसाद बस्नेतले बताउनुभयो । उहाँले खेतमा त्रिपालमुनि बस्नु परी रहेको छ । खेतमा बस्दा सर्पको पनि उत्तिकै डर तर रातभर खेतमा नबसे वर्ष भरी भोकै परिने डर छ ।
बनगाड ज्युलाका विभिन्न दश स्थानमा किसानहरू चौपाया धपाउन पालमुनी बास बस्दै आइरहेका छन् । छाडा चौपायाको व्यवस्थापन गर्न सम्बन्धित निकायले आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको किसानहरूको गुनासो रहेको छ ।
छाडा पशु चौपायाकै कारण बनगाड क्षेत्रमा सयौँ रोपनीमा लगाइएको अन्नबाली नोक्सान हुँदै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्