सेती नदीको कटानले बस्ती जोखिममा
डोटी-वर्षेनी सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेको छ । नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ ।
वर्षात्को समय शुरु भएसँगै सेतीनदीमा पानीको बहाव पनि निकै बढेकाले यहाँका स्थानीयवासीलाई कति बेला कहाँ बाढीले बगाउने हो भन्ने चिन्ताले पिरोली रहेको शिखर नगरपालिका–११ बारपाटाका स्थानीयवासी गणेश विष्टले बताउनुभयो ।
जिल्लाको शिखर नगरपालिकाको वडा नं १० बनलेग र वडा नं ११ बारपाटामा वर्षेनी वर्षात्को समयमा बाढी पहिरोले निकै दुःख दिने गरेको छ । सेती नदीमा पानिको बहाव बढेसँगै वारपाटा गाउँका बासिन्दाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता कायमै रहेको स्थानीयवासी बताउँछन् ।
सेतीनदी किनारमा रहेका यहाँका दिपायल, बानीडुग्रीसैन, सिरखोलीसैन, कालागाढ, रामपुर, गेरुपानी, दिपायल, घोलतडा नारिदाङलगायतका अधिकांश बस्तीका खेत नदीले कटान गर्न थालेको भए पनि समयमै सम्बन्धित निकाएले रोकथामका लागि पहल नगरेका कारण समस्या हुन थालेको अर्का स्थानीय देवहादुर धामीले बताउनुभयो ।
त्यसैगरी जिल्लामा दैनिकरुपमा भइरहेकाको वर्षात्का कारण स्थानीयवासीमा बाढी पहिराको त्रास फैलिएको छ । वर्षात्कै कारण यहाँका विभिन्न ठाउँका सडकमा पहिरा आएका छन् । जिल्लाका ग्रामीण क्षेत्रका एक दजर्न बढी सडक अवरुद्ध भएका छन् । यहाँका ग्रामीण क्षेत्रका अधिकांश स्थानीयलाई वर्षात्का कारण बाढी र पहिरा आउन सक्ने भन्दै त्रास बढ्न थालेको हो ।
यहाँका ग्रामीण बस्ती बाढी तथा पहिराको उच्च जोखिममा भएका कारण यहाँका स्थानीयवासीलाई चिन्ता बढ्न थालेको हो । त्यस्तै यहाँका ग्रामीण क्षेत्रमा वर्षात्को मौसम शुरु भएसँगै जिल्लाको सायल गाउँपालिका वडा नंं ४ बावनसैनका बासिन्दालाई पाँच वर्ष अगाडि घटेको कहालीलाग्दो रातको सम्झनाले तर्साउने गर्छ ।
विसं २०७२ साउन २३ गते आएको भीषण वर्षात्सँगैको पहिरोका कारण सायल गाउँपालिका–४ बावनसेनमा एकै परिवारका पाँच जनासहित छ जनाको ज्यान जानुका साथै उक्त क्षेत्रका सयौँ रोपनी खेतीयोग्य जमिन, पशुचौपाया बाढीले बगाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्