तनहुँको व्यास र म्याग्देमा पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवारलाई सङ्घ र प्रदेश सरकारद्वारा राहत

तनहुँ । तनहुँको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ ।
सोमबार पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवारलाई सङ्घ(केन्द्र) सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालय तनहुँ र गण्डकी प्रदेश सरकारले राहत रकम वितरण गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो ।
व्यास–९ का माझँफाटकी वर्षिया सुकमाया घर्ती, व्यास–११ का ५२ वर्षीय पदम बहादुर भुजेल(चेपाङ) र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १५ वर्षीया लक्ष्मी विकको पहिरोले पुरिएर मृत्यु भएपछि प्रशासन कार्यालय तनहुँले सङ्घ सरकारको तर्फबाट जनही एक लाखका र प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रि हरि बहादुर चुमानले ५० हजार बुधवार मृतकका परिवारलाई हस्तान्तरण गर्नुभयो ।
आइतबार राति देखिको अविरल वर्षाका कारण गएको पहिरोले पुरिएर जिल्लामा ११ जनाले ज्यान गुनाएका छन् । त्यस्तै एम जना अझै बेपत्ता रहेका छन् भने दुई जना घाइतेको पोखरामा उपचार भइरहेको छ ।
प्राकृतिक प्रकोपबाट मृत्यु हुनेलाई एक लाख प्रदान गर्ने सङ्घ सरकारको नीति र गण्डकी प्रदेश सरकारको जनही ५० हजार प्रदान गर्ने नीतिबमोजिम तीन जनालाई जनाहीे एक लाख ५० हजारका दरले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रि हरिबहादुर चुमानले आफन्तहरूलाई हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा मन्त्री चुमानले जनताको दुःखमा सरकारले केही राहत पुगोस् भनेर राहत रकम उपलब्ध गराइएको बताउनुभयो ।
पहिरोमा परेर घाइते भएकाको पोखरामा निःशुल्क उपचार भईरहेएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘घाइतेको उपचार खर्च आन्तरिक मामिला मन्त्रालयले बेहोर्ने छ । ’
उहाँले जिल्लामा अहिलेसम्म पहिरोमा पुरिएर ११ जनाले ज्यान गुमाइसकेको र अझै एक जना बेपत्ता रहेको अधिकारीले बताउनुभयो । स्थानीयसँगै नेपाली सेना, प्रहरी र एक्साभेटर समेत प्रयोग गरेर बेपत्ताको खोजी कार्य भइरहेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।
‘पहिरोमा पुरिएर बेपत्ता भएका व्यास नगरपालिका–९ का एक जनाको खोजी हुदैछ ।’ प्रजिअ अधिकारीले भन्नुभयो ‘उनका बुबा केशरबहादुर थापा पोखरामा उपचार गराइरहेकाले यहाँ नजिकको आफन्त कोही नभएको हुँदा उनलाई अस्पतालमै पुगेर राहत रकम हस्तान्तरण गरिन्छ ।’
तनहुँको ऋषिङ गाउँपालिका–८ भैँसीकिलेमा सोमबार पहिरोमा पुरिएर ज्यान गुमाएका एकै परिवारका पाँच जनाको आफन्तलाई जिल्ला प्रशासन कार्यालय तनहुँले मङ्गलवार नै राहत रकम वितरण गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो ।
उक्त राहत वितरण कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रि हरिबहादुर चुमान सँगै प्रदेश सांसदहरू आशा कोइराला, राम बहादुर गुरुङ, सरिता गुरुङ र डोबाटे विक लगायतको उपस्थिति रहेको थियो ।

तनहुँमा पहिरो अपडेट : पुरिएर ज्यान गुमाउने ११ जना
पहिरोमा परी १२ जना हराएका मध्ये ११ जनाको शव पहिरोबाट निकाली सकिएको र एक जना बेपत्ताको खोजी भइरहेको छ ।
तनहुँको ऋषिङ गाउँपालिकाका एकै परिवारका ५ जना, व्यास नगरपालिकाका ५ जना र म्याग्दे गाउँपालिकाका १ जना गरी अहिलेसम्म कुल ११ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
पहिरोमा ज्यान गुमाउनेहरूमा तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलेमा राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आम बहादुर थापाको घर बगाउँदा पहिरोमा पुरिएर थापाका दुई छोरा, दुई बुहारी र एक नातिनीको मृत्यु भएको हो ।
आम बहादुर थापाका साहिँला छोरा ३० वर्षीय भेषबहादुर थापा, २७ वर्षिया बुहारी नानुमाया थापा, ६ वर्षिया नातिनी छोरी अमिषा थापा, कान्छा छोरा २२ वर्षीय महादेव थापा र कान्छी बुहारी १९ वर्षिया मनिसरा थापाको मृत्यु भएको हो ।
त्यस्तै व्यास नगरपालिका–९ माझ फाँटमा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उनकी श्रीमती ४० वर्षीया कमला, छोरा २४ वर्षीय मनोज थापा र बुहारी २१ वर्षीया अन्जना थापाको मृत्यु भएको हो ।
त्यस्तै व्यास नगरपालिका–९ माझ फाँटमै पहिरोले पुरिएर ७० वर्षीया सुकमाया घर्तीको पनि मृत्यु भएको छ । त्यसै गरी व्यास–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेल(चेपाङ)को पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।
त्यस्तै म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १५ वर्षीया लक्ष्मी विकको पनि पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
एक जना अझै बेपत्ता
पहिरोमा पुरिएर व्यास–९ माझँफाटका एक जना अझै बेपत्ता रहेका छन् । माझँफाटमा २० वर्षीय राजेश थापा लाई अझै भेटाउन सकिएको छैन । सोमबार, मङ्गलवार र बुधवार पनि स्थानीय, प्रहरी, सेना र एक्स्काभेटर प्रयोग गरेर खोजी गर्दा समेत भेटाउन नसकिएको व्यास–९ का वडा अध्यक्ष सुरेश थापाले जानकारी दिनुभयो ।
तीन दिन लगातार खोजी गर्दा समेत भेटाउन सकिएको छैन । राजेशको खोजी कार्य जारी राख्ने वडा अध्यक्ष थापाले बताउनुभयो ।
दुई जना घाइतेको पोखरामा उपचार हुँदै
पहिरोमा परे घाइते भएका जिल्लाको ऋषिङ गाउँपालिकाका एक जना महिला र व्यास नगरपालिकाका एक जना पुरुषको पोखरा उपचार भइरहेको छ ।
घाइते हुनेमा ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलेकी ५८ वर्षिया ज्योती थापा हुन् । थापाको हात भाँचिएको छ । त्यस्तै अर्का घाइते व्यास–९ माझँफाटका ५० वर्षीय केशरबहादुर थापाको खुट्टा भाँचिएको छ ।
दुवै जनाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्