तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोबाट विस्थापितको पुनर्स्थापनाका लागि कम्तीमा दुई महिना लाग्छ : मुख्यमन्त्री गुरुङ

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाढी पहिरोबाट विस्थापित भएकाहरूको पुनर्स्थापनाका लागि कम्तीमा दुई महिना लाग्ने बताउनुभएको छ ।

बाढी पहिरोबाट भएको क्षति निरीक्षण गर्न बुधवार लमजुङ आउनुभएका मुख्यमन्त्री गुरुङले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री गुरुङले अहिले उद्धारको चरण सकिएको भन्दै बाढी पहिरोबाट विस्थापितहरूलाई हाल सामुदायिक भवन र विद्यालयमा राखिएको बताउनुभयो । दुई महिनासम्म पिडितहरुलार्ई राहत उपलब्ध गराएर बस्ने व्यवस्था मिलाइने उहाँको भनाई छ ।

मुख्यमन्त्री गुरुङले बाढी पहिरोबाट सबैभन्दा प्रभावित क्षेत्रमा शुद्ध खानेपानी र राहत उपलब्ध गराउन समेत कठिनाइ भएको बताउनुभयो । प्राकृतिक विपत्तलाई रोक्न नसकिने भन्दै उहाँले जनधनको क्षति न्यूनीकरणका लागि भौतिक संरचना निमार्ण गर्दा ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले विपत्त जोखिम न्यूनीकरणका लागी गण्डकी प्रदेशका सबै स्थानीय तहहरूमा भौगोलिक मापदण्डका आधारमा संरचना निमार्ण गर्नुपर्नेमा जोड दिनभयो ।

बाढी पहिरोको यो समयमा पानीको उचित व्यवस्थापन गर्न नसक्दा रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै यस प्रति ध्यान दिन आवश्यक रहेको उहाँको भनाई थियो ।

यसैबिच गत बिहीबार बेशीसहरमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई भेटेर प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री गुरुङले प्रति मृतक ५० हजारका दरले एक लाख ५० हजार राहत उपलब्ध गराउनुभएको छ ।

उहाँले कोभिड–१९ सङ्क्रमण रोकथाम र बाढी पहिरो पीडितलाई राहत तथा पुनर्स्थापना तदारुकताका साथ गर्न मुख्यमन्त्रीले कार्यालय प्रमुखहरूलाई निर्देशन समेत दिनुभएको छ ।

राहत रकम हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य मायानाथ अधिकारी, धनञ्जय दवाडी, मधु अधिकारी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एव प्रहरी नायव उपनिरीक्षक गङ्गा बहादुर थापा, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक रमेश गुरुङ लगायत जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

यसै गरी मुख्यमन्त्री गुरुङले मध्य नेपाल नगरपालिकास्थित बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । उहाँले सो क्षेत्रमा पारेको प्रभावको बारेमा छलफल गर्नुका साथै बाढी पहिरो पीडितहरूलाई समेत विपत्तिको समयमा नआत्तिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button