बेरोजगार युवालाई रोजगारीको व्यवस्था गर्न माग
अछाम । युवा सरोकार अभियान तुर्माखाँद अछामले समाजमा भइरहेको विकृति तथा विसङ्गति अन्त्यका लागि गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई एक ज्ञापन पत्र बुझाउँदै अभियानले समाजमा बढिरहेका विकृति, विसङ्गति तथा भ्रष्ट्राचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो ।
साथै कोरोना भाइरसको महामारीका कारण विदेशबाट गाउँ फर्किएका युवाहरूलाई उत्पादनमूलक क्षेत्रमा लगाएर रोजगारी दिन पनि गाउँपालिकासँग माग गरेको छ ।
ज्ञापन पत्रमा गाउँघरमा हुने विकास निर्माणका कामहरूमा डोजरको प्रयोग नगरेर बेरोजगार बनेका युवाहरूलाई परिचालन गर्न आग्रह गरिएको छ ।
युवाहरूको मानसिक तथा शारीरिक विकासका लागि विभिन्न कार्यक्रममा बजेट विनियोजन गर्न माग गरेको अभियानले दलित, महिला तथा सीमान्तकृत वर्ग लक्षित कार्यक्रमहरू सञ्चालन गर्न माग गरेको छ ।
यस्तै, अभियानले कोरोना भाइरस नियन्त्रणका लागि गाउँपालिकामा भएको खर्चको विवरण सार्वजनिक गर्न पनि माग गरेको छ ।
आफूहरूले राखेका मागहरू पूरा नभए आगामी दिन विभिन्न चरणमा आन्दोलन गर्न बाध्य हुने अभियानका संयोजक लोकेश कुमार बयकको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्