कोरोना सन्त्रास : बहुमूल्य केसर खेती प्रभावित

झापा । नेपालमै पहिलोपटक व्यावसायिक रुपमा शुरु गरिएको बहुमूल्य केसर खेती विश्वव्यापी महामारी कोरोना भाइरसको कारण नराम्ररी प्रभावित बनेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण पूर्वी पहाडी जिल्ला इलामको उच्च पहाडी क्षेत्रमा लगाइएको केसर खेती प्रभावित बनेको हो ।
झापा र इलामका उद्यमीहरुले मल्टिपरपोज एग्रीकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टर नामक कम्पनी नै दर्ता गरी सोहीमार्फत गत वर्षदेखि शुरु गरेको केसर खेतीमा बीउ रोप्ने, गोडमेल र स्याहार–सम्भार गर्ने उपयुक्त समय अहिले भए पनि लकडाउनका कारण खेती भएको ठाउँसम्म पुग्न नपाउँदा खेती नै मासिने हो कि भन्ने चिन्ता उद्यमीहरुमा देखिएको छ ।
केसर खेती खनजोत गरेर माटो तयार गर्ने समय सकिन लागेको र बीउ रोप्ने समय पनि नजिकिएकोले चिन्ता बढेको बताउँदे कम्पनीका अध्यक्ष वीरबहादुर कटुवालले भौतिक दूरी राखेर खेतीको काम गर्ने सहज वातावरण बनाइदिन सरोकारवाला निकाय र समुदायसँग आग्रह गर्नुभएको छ ।
उहाँले समयमै काम गर्न नसके ठूलो लगानी डुब्ने र विश्वमै दुर्लभ मानिने वनस्पति केसरको खेती नै मासिने अवस्था आउनसक्ने भन्दै लकडाउनकै बीच पनि नयाँ बीउ रोप्नुपर्ने वाध्यता रहेको बताउनु भयो ।
कम्पनीले झापाको काँकरभिट्टामा मंगलबार पत्रकार सम्मेलन नै गरेर केसर खेतीले व्यहोर्नुपरेको संकटका बारेमा जानकारी गराएको थियो ।
विश्व व्यापिरुपमा फैलिएको कोभिड–१९, बाढी पहिरो र लकडाउनका कारण असारदेखि साउन महिनासम्ममा रोपिसक्नु पर्ने केसरको विरुवा रोप्न नसकिएको केसरलाई बहुउपयोगी औषधीय गुणयुक्त वनस्पति मानिन्छ । केसर रोग प्रतिरोधात्मक क्षमता बढाउन, अल्जाइमर्सका बिरामी, गर्भवती महिला, डिप्रेशनका बिरामीका लागि निकै उपयोगी मानिन्छ ।
विश्वमा झण्डै आधादर्जन मुलुकमा मात्र उत्पादन हुने केसर असारको अन्तिम सातादेखि साउनको दोस्रो सातासम्म रोपण गर्ने र असोज—कात्तिक महिनामा फूल फुल्ने हुन्छ । यी समयमा ती कार्य गर्न सकिएन भने तयारी केसर उत्पादन हुन नसक्ने उद्यमी कटुवालको भनाइ छ ।
इलामको सन्दकपुर–५ जौँबारी र माई जोगमाई–६ थुम्केमा गत वर्षदेखि व्यवसायिक खेती शुरु गरिएको बेसरको बीउ तथा विरुवा भारतको श्रीनगर र कश्मिरबाट ल्याइएको र यस वर्ष पनि मगाइसकिएको कम्पनीका निर्देशक शंकर भट्टराईले बताउनु भयो । उहाँले बीउ ल्याउन सक्ने अवस्था भए पनि खेतीसम्म पुर्याउन सहज अवस्था नभएकोले आफूहरु अलमलमा परेको उहाँको भनाइ थियो ।
पहिलो वर्ष परीक्षणका रुपमा गरिएको खेतीबाटै सन्तोषजनक उत्पादन र आम्दानी भएपछि खेती विस्तार गर्न हौसिएका उद्यमीहरु नेपालमा केसर खेतीको प्रशस्त संभावना रहेको बताउँछन् ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी १२ देखि १५ लाख रुपैयाँ पर्ने केसर उक्त कम्पनीले प्रतिकेजी ६ लाख रुपैयाँमा बिक्री गरेको थियो । पहिलो वर्ष झण्डै एक केजी केसर उत्पादन भएको अर्का उद्यमी चित्र राजवंशी बताउनु हुन्छ ।
कम्पनीको स्वामित्वमा रहेको ५९ रोपनी जग्गामध्ये १५ रोपनीमा केसर तथा कस्मिरी स्याउ, नासपाती, आरुबखडालगायतका फलफूल लगाइको छ ।








प्रतिक्रिया राख्नुहोस्