क्षतिको विवरण सङ्कलन शुरु

दमौली- आइतबार परेको भीषण वर्षापछि आएको बाढीपहिरोका कारण जिल्लामा भएको क्षतिको विवरण सङ्कलन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सम्बन्धित स्थानीय तहमार्फत क्षतिको विवरण सङ्कलन शुरु गरेको हो ।
बाढीपहिरोबाट जिल्लामा ठूलो नोक्सानी भएको र त्यसको यकिन तथ्याङ्क लिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । प्रजिअ अधिकारीका अनुसार म्याग्दे गाउँपालिकाबाट ६१ घरधुरी विस्थापित भएको तथ्याङ्क कार्यालयलाई प्राप्त भइसकेको छ । म्याग्देका विस्थापित भएका घरधुरीलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत त्रिपाललगायतका सामग्री उपलब्ध गराइएको छ । “अन्य स्थानीय तहबाट पनि क्षतिको विवरण माग गरेका छौँ”, प्रजिअ अधिकारीले भन्नुभयो ।
जिल्लामा करिब २०० घरपरिवार बाढीपहिरोबाट विस्थापित भएको अनुमान गरिएको छ । उनीहरुलाई सम्बन्धित स्थानीय तहसँगको समन्वयमा वैकल्पिक बासको व्यवस्था मिलाइनेछ । पहिरोका कारण पृथ्वीराजमार्ग र शाखा मार्गहरुका अधिकांश ठाउँमा रुखहरु ढलेको छ भने कतिपय ठाउँमा सडक भासिएको छ । ढलेका रुखलाई पन्छाएर राजमार्ग सञ्चालन गराइएको छ । जिल्लामा अधिकांश ठाउँमा खानेपानीको पाइप, बिजुलीको पोलहरुमा पहिरोले क्षति पु¥याएको छ ।
पहिरोपीडितको राहतमा जुट्न अपिल
नेपाली काँग्रेस तनहँुले पहिरोपीडितको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई अपिल गरेको छ । पार्टीका जिल्ला सचिव विश्व बाँस्तोलाले प्रेस विज्ञप्ति जारी गर्दै पहिरोबाट पीडित भएकालाई राहत वितरण, बेपत्ताको खोजीकार्यमा सहयोग गर्न पार्टी कार्यकर्तालाई अपिल गर्नुभएको हो ।
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै काँग्रेसले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । प्राकृतिक विपत्तिबाट जिल्लामा कयाँै घर, गोठ क्षतिग्रस्त भएका, खेतीयोग्य जमीन बाढीले कटान गर्नुका साथै पाकेको अन्नबाली र पशुधनको क्षति भएको, सडक विद्युत्लगायतका सेवा संरचना अवरुद्ध भएको घटनाप्रति दुःख व्यक्त गरिएको छ ।
जिल्लामा अझै पनि बाढीपहिरोको जोखिम रहेको हुँदा सम्पूर्ण जिल्लावासीलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दै शोक, वियोग र पीडाको स्थितिमा घरवारविहीन पीडित परिवारलाई यथाशीघ्र राहत उपलब्ध गराई पुनःस्थापना गराउन काँग्रेसले माग गरेको छ ।
रोपिसकेको धान बाढीले बगायो
तनहुँको विभिन्न भागमा रोपिसकेको धान बाढीले बगाएको छ । आइतबार रातिदेखि परेको भीषण वर्षाले खोलामा आएको बाढीका कारण धान खेतमा क्षति पुगेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । खोला आसपास रोपाइँ गरिएका धान खेतमा बाढी पसेर क्षति पुगेको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीले म्याग्दे गाउँपालिकाअन्तर्गतका खोला आसपासका अधिकांश धानखेतमा बाढीले क्षति पु¥याएको बताउनुभयो । “आइतबार रातिको वर्षाका कारण आएको बाढीले तनहुँमा रोपाइँ भइसकेको खेतमा क्षति पु¥याएको प्रारम्भिक जानकारी आएको छ, म्याग्दे गाउँपालिकाका खोला आसपासका अधिकांश खेत अनुगमन पनि गरियो, अन्य स्थानको अनुगमन भइरहेको छ”, तिवारीले भन्नुभयो ।
उहाँका अनुसार व्यास नगरपालिका–५ स्थित साँगेखोला आसपासका धानखेतमा पनि बाढीले क्षति पुगेको छ । त्यस्तै भानु नगरपालिकाको चुँदी खोला आसपास, भीमादको छिब्दीखोला आसपासका धानखेतमा पनि बाढीले क्षति पु¥याएको जानकारी आएको तिवारीले जानकारी दिनुभयो । “बाढीले ठूलै क्षति पु¥याएको अनुमान गरिएको छ, विस्तृत विवरण सङ्कलन गर्दैछौँ”, उहाँले भन्नुभयो । तिवारीका अनुसार खोला आसपासका १० मिटरसम्मका खेतमा बाढी पसेको छ ।
भीमाद नगरपालिका–७ स्थित छिब्दीखोलामा आएको बाढीले करिब १५ रोपनी धानखेत बगाएको स्थानीयवासी सूर्यप्रसाद रिजालले जानकारी दिनुभयो । भर्खरै रोपेर सकिएको खेत बाढीले बगाएको उहाँले बताउनुभयो । तनहुँमा हालसम्म ८० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा अधिकांश ठाउँमा रोपाइँ सकिएको भए पनि बाढीले क्षति पुगेपछि कृषक निराश बनेका छन् । कृषि ज्ञानका अनुसार केन्द्रका जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे र तीन हजार ५०० हेक्टरमा चैतेधान खेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्रहरु धानखेतीका लागि प्रख्यात मानिन्छन् । जिल्लाका कृषकले सावित्री, मकवानपुरेलगायतका उन्नत जातका धानखेती गर्ने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्