सडकमा मेडिकलजन्य फोहोर फाल्नेलाई कारवाही

वीरगंज । अस्पतालबाट निस्किने फोहोर जथाभावी सडकमा फाल्ने वीरगंजको विर्ताका मेडिकल र क्लिनिक सञ्चालकलाई कारबाही स्वरुप उनीहरुलाई नै फोहोर सफा गर्न लगाइएको छ ।
सुरक्षित तथा व्यवस्थित वीरगञ्ज अभियान अन्तर्गत आज विर्ता क्षेत्रका मेडिकल तथा क्लिनिकहरुलाई फोहोर सफा गर्न लगाइएको हो ।
अस्पतालमा प्रयोग भएका मेडिकल जन्य फोहोर त्यस क्षेत्रमा रहेका मेडिकल तथा क्लिनिकहरुले जथाभावी सडकमै फाल्दै आएका थिए । अभियानले अबदेखि सडकमा जथाभावी फोहोर फालेको भेटिए कारबाही गर्ने समेत जनाएको छ ।

वीरगञ्जको अलखिया मठदेखी बिर्तासम्मको क्षेत्रमा मेडिकल तथा क्लिनिक सञ्चालकहरुले सडकमै जथाभावी फोहोर फाल्दा शहरको सौन्दर्य विग्रनुका साथै त्यसले विभिन्न रोगहरुसमेत फैलने गरेको थियो । आज पहिलो पटकलाई आफै सफाई गर्न लगाइएको र अबदेखि पनि जथाभावी फोहोर फालेको भेटिए थप कारवाही गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले बताउनुभयो ।
त्यस क्षेत्रमा भिजन डाइग्नोस्टिक, श्री गणेश डाईग्नोस्टिक, प्रवेश क्लिनीक, डा.आनन्द कुमार झाको क्लिनिक, शान्ति पोलि क्लिनिक, डा. मनोज रुंगटाको मेडिस्क्यान लगायतका क्लिनिकहरुले जथाभावी सडकमा नै मेडिकल जन्य फोहोर फाल्दै आएका थिए ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जारी अभियानमा प्रहरी नायव उपरीक्षक गौतम थापा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निर्मल पनेरु, वडा नम्बर ३ का वडाध्यक्ष बैजु स्वर्णकार, वीरगंज युवासमाजका अध्यक्ष कमल चौगाई, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, अनुप अग्रवाल लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्