प्रदेश सरकारले किसानले लिएको ऋणको ब्याज तिरिदिने
सप्तरी । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी गरिएको लकडाउनले प्रभावित बनेका सप्तरीका साना किसानको ऋणको ब्याज प्रदेश २ सरकारले तिरी दिने क्रमलाई निरन्तरता दिईएको छ ।
राहत तथा अनुदान कार्यक्रम अन्तर्गत प्रदेश २ का ८ वटै जिल्लाका किसानहरूको ऋणको ब्याज तिर्ने कार्य एक साता यता सुरू गरेको भुमी ब्यवस्था, कृषि तथा सहकारी मंन्त्रालयले सप्तरीका ४ हजार ४ सय ९४ साना किसानको ऋणको ब्याज सम्बन्धीत बैंकलाई तिरिदिएको हो ।
सोमवार जिल्ला समन्वय समिति तथा कृषि ज्ञान केन्द्रको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का भुमी, ब्यवस्था, कृषि तथा सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लाका ४ हजार ४ सय ९४ साना किसानको ऋणको ब्याज अनुदान बापतको चेक विभिन्न बैंक तथा बितिय संस्थालाई हस्तान्तरण गर्नुभयोे । प्रदेश सरकारले लकडाउन भएको चैत, बैशाख, जेष्ठ र अषाढ महिनाको ब्याज तिरिदिएको हो ।
सो अवसरमा मन्त्री साहले लकडाउनका कारण प्रभाबित कृषि क्षेत्र उकास्न र आमजनताले कृषिमा लगानी गर्ने वातावरण बनाउन प्रदेश सरकारले योजना बनाएको बताउनुभयो ।
सप्तरीका ५ लाख भन्दा कम ऋण लिएका साना किसानहरूको ब्याज ३ करोड ३५ लाख ५९ हजार ६ सय ६३ रूपैया प्रदेश सरकारले तिरिदिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र यादबले जानकारी दिनु भयो । यस्तै साना किसानलाई राहत तथा पुर्नस्थापनाका लागि १ करोड २० लाख ८१ हजार ५ सय ८९ रूपैया समेत मन्त्री साहले पिडित किसानलाई उपलब्ध गराएका छन ।
जिल्लामा ६ हजार २ सय ६४ जना किसानले निवेदन दिएकोमा पहिलो चरणमा ४ हजार ४ सय ९४ जनाको ऋणको ब्याज तिरिएको र बाँकी रहेकाहरूलाई दोस्रो चरणमा प्रदेश सरकारले ब्याज तिरिदिने तयारी भइरहेको मन्त्री साहले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, रूबी कर्ण तथा प्रमिला देबी यादबले समेत सम्बन्धित बैंक तथा बितिय संघसंस्थाहरुलाई किसानको ऋण वापतको ब्याजको चेक हस्तान्तरण गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्