तपाईँ सुन्दै हुनुहुन्छः

विपद्का बेला उच्च जोखिममा काम गर्नेहरु सम्मानित

सप्तरी । कोरोनाको महामारी, बाढी, आगलागि लगायत विपद्का बेला उच्च जोखिममा काम गर्नेहरुलाई यहाँको एक स्थानिय तहले नगदसहित सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा कोरोनाको उच्च जोखिमका बीच क्वारेन्टाइनमा बसेका आशंकितहरुका लागि खान पकाएर खुवाउने भान्से, आशंकितहरुको स्वास्थ्य परिक्षणमा खटिने स्वास्थ्यकर्मी, क्वारेन्टाइन सुरक्षार्थ खटिने सुरक्षाकर्र्मी तथा आशंकित र संक्रमितलाई सम्बन्धित स्थानमा पुर्याउने एम्बुलेन्स चालक रहेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नो चौथो गाउँसभाको अवसरमा कोरोना महामारी तथा विपदको बेला योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो ।

सम्मानितहरुमा भान्से कैलु मण्डल, बिरेन्द्र साह, एम्बुलेन्स चालक अमरेन्द्र देव तथा क्वारेन्टाईन ब्यवस्थापन र परिक्षणतर्फ खटिएका सन्तोष कुमार झा, रन्जन कुमार यादव, प्रधानाध्यापक विपिन झा र सन्तोष सिंह लगायत छन् ।

त्यस्तै आ–आफ्नो वडामा उत्कृष्ट कार्य गर्ने वडा सचिव तथा सुरक्षा क्षेत्रमा योगदान पुर्याउने सुरक्षाकर्मीहरुलाई समेत कदरपत्रबाट सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झाले बताए ।

सबैलाई नगद २ हजार १ सय, प्रशंसा पत्र तथा दोसल्ला ओढाएर गाउँपालिका प्रमुख सतिश सिंहले सम्मान गरेका हुन् ।

गाउँसभाले चट्याङ, आगलागी, शीतलहर, बाढी, सर्पदंश जस्ता प्रकोपका कारण ज्यान गुमाएका मृतक परिवारहरुलाई क्रिया खर्च बापत जनही २५ हजार रुँपैया सहयोग गर्ने निर्णय समेत गरेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button