तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा बाढी र पहिरोको वितण्डता,त्रासमा स्थानीय

चौतारा – बुधबार राति बाह्रविसे नगरपालिका, जम्बोस्थित एल्मो खोला उर्लदा दुई जनाको ज्यान जानका साथै २२ जना बेपत्ता भए । बेपत्ताको खोजीकार्य जारी रहेकै बेला शुक्रबार फेरि भोटेकोसी गाउँपालिकास्थित भैरवकुण्ड हाइड्रोपावरसँगैको लार्चा खोलामा बाढी आउँदा एक जना बेपत्ता हुनका साथै एक घर बगाए । लार्चा खोला नजिकैको बस्तीहरु पहिरोले पुरिन थालेको छन् भने स्थानीयहरुको भागदौड भएको छ । सो क्षेत्रको दसकिलो, घट्टेखोला, कोदारी डाँडा उच्च जोखिम रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।
यता बाह्रविसे खोर्सानीबारीस्थित ठाडोखोला उर्लदा बाह्रविसे तातोपानी सडकखण्ड खोलामा परिणत भएको छ भने भोटेकोसी नदीमा पानीको सतह बढ्दै जाँदा भोटेकोसी नदी नै बजारमा पस्ने जोखिम पनि बढ्दै गएको छ ।


अविरल वर्षासँगै जिल्लास्थित विभिन्न नदी, खहरे र खोल्साहरुमा बाढी आउन थालेपपछि जनजीवन एकएक त्रासमा बदलिएको हो ।जिल्लाका प्रमुख नदीहरु, भोटेकोसी, सुनकोसी र ब्रम्हायणीमा पानीको सतह बढ्दै गएपछि सो क्षेत्र आसपासका बासिन्दाहरु यतिखेर त्रासमा छन् । जिल्लाको प्रमुख व्यापारिक बजार खाडिचौर र सुकुटेमा सुनकोसी नदीको बहाबले मानव बस्तीलाई कटान गर्न थालेको छ ।जिल्लाको उत्तरी भेग जुगल गाउँपालिकाको नाम्फा बस्ती नजिकै पहिरो जाँदा एक घर पुरिएको स्थानीय सूर्य सिलवालले जानकारी दिनुभयो । त्यस्तै लिदिमा पहिरो जाँदा माथिल्लो बलेफी हाइड्रोपावर कम्पनीको इन्टेक समेत पुरिएको छ । ब्रम्ह्यणी नदीको सतह बढ्दै जाँदा जलबीरे, सिम्ले र बलेफी बजारमा समेत जोखिम बढ्दै गइरहेको स्थानीय राजु श्रेष्ठले जानकारी दिनुभयो ।


जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण मानव वस्तीमा जोखिम बढ्दै गएकाले सर्तक हुन जिल्लाबासीका लागि सूचना जारी गरिसकेको छ । जिल्लामा जताततै बढीपहिरो जान थालेपछि सबै सुरक्षा निकाय र उद्धारकर्मीलाई हाइलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । बढ्दो बाढीपहिरोको जोखिम न्यूनिकरणका लागि स्थानीय सरकार लगायत सरोकार निकायले यथासीघ्र पहलकदमी लिनुपर्ने जलवीरेका राजु श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button