तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहमा न्यायिक समितिको भूमिका महत्त्वपूर्ण

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्थानीय तहमा रहेको न्यायिक समितिको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

स्थानीय तहमा रहेको न्यायिक समितिका संयोजक र कानुनी सहजकर्ताहरुसंगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । न्यायिक समितिले सामाजिक रूपमा निकै महत्त्व राख्ने तथा जनतासँग प्रत्यक्ष जोडिने हुनाले यसलाई व्यवस्थित गर्दै लग्नु पर्ने उहाँको भनाई थियो ।
न्यायिक समितिका कारण सामान्य प्रकारका न्याय निरूपण स्थानीय तहमै हुने हुँदा अदालतको पहुँच सम्म पुग्न नसकेका र सामान्य प्रकृतिका घटनाको सहजीकरण गर्नका लागि न्यायिक समिति महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

प्रमुख खुलालले संविधानमै व्यवस्था भएको स्थानीय तहको न्यायिक समितिले सामाजिक क्षेत्रमा प्रभाव पार्ने भएकाले न्यायिक समितिलाई प्राथमिकता दिनुपर्ने समेत बताउनुभयो ।

बागमती प्रदेश प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वार्षिक कार्यक्रम अन्तरगत जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुखको संयोजकत्वमा जिल्लाका १० वटै पालिकाको न्यायिक समितिको अनुगमन पश्चात् आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका न्यायिक समितिका संयोजकहरूले न्यायिक समितिलाई स्थानीय सरकारले भने त्यति ध्यान नदिएको गुनासो गरेका छन् । उनीहरूले न्यायिक समितिलाई पनि स्थानीय सरकारको एउटा शाखाकै रूपमा विकास गरेर कानुन सम्बन्धी दक्ष जनशक्तिको व्यवस्था हुनुपर्ने बताएका छन् । न्यायिक निरूपण गर्न सहजता प्रदान गर्ने कुरामा कानुनी शाखाकै रूपमा विकास गर्न सके यसले समाजमा अझै धेरै प्रभाव पार्ने उनीहरूको भनाई थियो ।

जिसस प्रमुख खुलालको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रम उपप्रमुख पुडासैनीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, मकवानपुर गढी, भीम फेदी, बागमती, राक्सिराङ्, र कैलाश, बकैया र ईन्द्रसरोवर गाउँपालिकाका न्यायिक समिति संयोजक तथा न्यायिक समितिका सजहकर्ताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button