भक्तपुरमा कोरोना भाइरस संक्रमण समुदायमा फैलने क्रम बढ्दो
भक्तपुर । कोरोना भाइरस संक्रमण कोभिड १९ का १० संक्रमित थपिएसंगै भक्तपुरमा संक्रमित हुनेको संख्या ३९ पुगेको छ । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार भक्तपुरका ४ वटै नगरपालिकामा कोरोना भाइरस फैलिएको छ ।
संक्रमणबाट बच्न घरमै बस्ने र अरुको सम्पर्कमा नजाने भनिरहँदा चाँगुनारायण नगरपालिकाकी एक महिला किरीया बसिरहेको अबस्थामा समेत संक्रमित बनेकी छन् । यसँगै कोरोना समुदायमा फैलिएको पुष्टि भएको छ ।सोमबार उनीसहित चाँगुनारायणमा मात्र ४ जना संक्रमित थपिएका छन् । चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले किरीया बसिरहेकी महिला लाइ समुदायबाट नभई अस्पताल बाट संक्रमण भएको हुनसक्ने आशंका ब्यक्त गर्नुभयो ।
उहाँ श्रीमानको उपचारमा अस्पतालमा हुनुहुन्थ्यो, श्रीमान बित्नुभएर किरीया बसिरहेको बेलामा उहाँमा संक्रमण देखिएको हो । कोरोना अस्पतालमा सरेको हुनसक्छ । र उनका पतिको उपचारका क्रममा ६ दिन अघि मृत्यु भएको थियो। संक्रमित महिला किरिया बसिरहेकाले अस्पताल भने लगिएको छैन । उनलाई घर मै राखिएको छ ।
मेयर मिश्रका अनुसार संक्रमितका परिवार र सम्पर्कमा आएकालाइ क्वारेन्टाइनमा राखिएको छ । उहाँले चाँगुमा ४ जना थपिएको भनिएपनि दुवाकोट ठेगाना भएका १ संक्रमित काठमाडौंका भएको बताउनुभयो ।चाँगुनारायण नगरपालिकाका थपिएका ४ मध्ये एक जना लामो समयदेखि काठमाडौंको चावहिलमा बस्दै आएका व्यक्ति भएको नगरप्रमुख मिश्रले बताउनुभयो । त्यसैगरी अर्का व्यक्ति नेपाल वायुसेवा निगमका पाइलट भएको र उनी काठमाडौंको सोल्टी होटलको क्वारेन्टाइनमा बस्दै आएका छन।
सोमबार भक्तपुर नगरपालिकामा पनि ३ जना संक्रमित थपिएका छन् । वडा नम्बर २ इताछेमा एक २४ वर्षका युुुवक, ब्यासिमा २९ वर्षिय र वडा नम्बर ९ च्यामासिंमा ३३ वर्षकी युवती पनि संक्रमित भएका हुन् । त्यसैगरी एक जना उपत्यका बाहिर स्थायी घर भई भक्तपुर डेरा गरी बस्ने महिला भएको जनाएको छ।भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमितको कन्ट्याक्ट् ट्रेसिङ कार्य भैरहेको छ भने संभावित संक्रमितको पहिचान गरी क्वारेनटाइनमा राख्न वडाध्यक्षहरु खटिसकेका छन् । सोमवार भक्तपुरमा थपिएका संक्रमितहरु मध्ये भक्तपुर क्यान्सर अस्पतालका ४ जना कर्मचारी रहेका छन् । क्यान्सर अस्पतालमा कर्माचारी मा संक्रमण देखिएपछि अस्पतालको सेवा दिन वा रोक्ने भन्ने विषयमा छलफल भइरहेको अस्पताल प्रसाशनले जनाएको छ ।
अस्पतालले ६ जना चिकित्सक र ४ जना ल्याव का कर्माचारीलाई होम क्वारेन्टिन मा राखेको जनाएको छ ।त्यसैगरी सूर्यविनायकमा २३ वर्षिय युवकमा संक्रमण देखिएको छ । उनी सुनपा २ वालकोटका बासिन्दा हुन् । मध्यपुर थिमिमा १ जना संक्रमित थपिएका छन् ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले समुदायमा कोरोना भाइरस फैलिसकेकाले थप सतर्क बन्न अनुरोध गर्नुभएको छ ।आफूहरुको मात्र प्रयासले कोरोना नियन्त्रण हुन नसक्ने भन्दै उहाँले मास्क र सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम राख्नु सबैको कर्तब्य भएको बताउनुभयो ।
सचेत भएर लकडाउन पालना नगरे स्थिति भयावह हुनसक्ने उहाँको चेतावनी छ । भिडभाड नियन्त्रणका लागि थप कडाइ गरिने र कन्ट्याक्ट ट्रेसिङ र सिल गर्ने कार्यमा प्रहरी परिचालन भएको उहाँले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्