तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ नगरपालिकाको एक्साभेटरसहित अपरेटर बन कार्यालयको नियन्त्रणमा

बारा । डिभिजन बन कार्यालय बाराले निजगढ नगरपालिकाको एउटा एक्साभेटरसहित अपरेटर र सहायक अपरेटरलाइ नियन्त्रणमा लिएको छ । निजगढ नगरपालिका वडा नं. ८ स्थित बकैया—नागमणि सामुदायिक वन उपभोक्ता समूहलाई कुनै जानकारी नै नदिई र प्रक्रिया नपुयाइ पोखरी खन्न थालेको थियो ।

सबडिभिजन वन कार्यालय तामागढीले नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा एक्साभेटरसहित दुईजनालाई नियन्त्रणमा लिईएको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो । आज निजगढ नगरपालिकाको जमानीको आधारमा एक्साभेटर सहित एक्साभेटरका अपरेटर र सहायक अपरेटलाई छोडिएको अहमदले बताउँनुभयो ।

पोखरी खन्न आफूसँग कुनै समन्वय, छलफल नभएको सो वन समूहका अध्यक्ष रविराज दङ्गालले बताउँनुभयो । सो वन समूहको क्षेत्रमा पर्ने बकैया खोलाको पक्की ड्याम नजीकै गहिरो पोखरी खन्न थालेपछि स्थानीयले समेत विरोध गर्दै आइरहेका छन् ।

खयरघारी सुकुमबासी बस्तीनजीकैको वनको जमीनमा सो पोखरी खनेसँगै त्यस बस्तीका अधिकांश स्थानीयहरू आक्रोशित बनेका छन् । बस्तीनजीकै पोखरी खन्दा बस्तीका बालबालिकाहरू डुबेर ज्यानै जानेसम्मको खतरा बढ्ने र माथिल्लो तटबन्ध फुटेर खोला बस्तीमा पस्न सक्ने स्थानीय टङ्कप्रसाद उपाध्यायले बताउँनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button