तपाईँ सुन्दै हुनुहुन्छः

२२ र २३ गते बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाइने


बैतडी । बैतडीमा पनि यही असार २२ र २३ गते बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाइने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत दोस्रो चरणमा जिल्लाका २३ हजार ९३९ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य रहेको हो ।

यस्तै १ बर्षदेखि ५ बर्षमूनीका २१ हजार ७७ बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक तिर्थराज भट्टले जानकारी दिनुभयो । यसका साथै ६ महिनादेखि २३ महिनासम्मका ८ हजार १८३ बालबालिकालाई बालभिटा पनि खुवाइने भट्टले बताउनुभयो ।

भिटामिन ‘ए’ ले बालबालिकालाई रतन्धो हुनबाट बचाउने, जुकाको औषधिले बच्चाको पेटमा भएका जुकालाई मारेर रक्तअल्पता हुन नदिने र बालभिटाले बच्चालाई कुपोषणबाट हुनबाट बचाउनुका साथै पोषणस्थिती सुधार गर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उक्त कार्यक्रम सामाजिक दुरी कायम गर्दै सञ्चालन गरिने जनाईएको छ ।

बैतडीका १० वटै स्थानीयतहको प्रत्येक वडाको तोकिएको खोपकेन्द्रबाट उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । उक्त कार्यक्रमका लागि ८३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । गत बैशाख ६ र ७ गते सञ्चालन हुने यो कार्यक्रम कोरोना महामारीका कारण सरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button