पर्वतमा चैतेधानको अनुसन्धान, तीन जात सफल

पर्वत । परम्परागत रुपमा चैतेधान रोपिँदै आएको पर्वतमा पहिलो पटक चैतेधानको अनुसन्धान भएको छ । कृषि प्राविधिकहरुले १३ प्रकारका चैतेधानको बीज अनुसन्धान गरेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना (धान जोन) र रामपुर कृषि क्याम्पस चितवनका प्राविधिकहरुले गरेको बीज अनुसन्धानमा तीन वटा जात उत्कृष्ठ रहेको ठहर गरिएको छ ।
आठ सय देखि एक हजार मिटरको उचाई सम्म फल्ने विभिन्न प्रजातीको धानमा प्राविधिकहरुले ल्याव परिक्षण गरेका थिए । किसानहरुले उत्पादन गर्दै आएका स्थानीय जात र आयातित जातको छट्टाछुट्टै परिक्षण गरिएको धान जोन इकाईका प्रमुख धनबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार जिल्लाको हावापानी र भूगोलमा हर्दीनाथ १, हर्दीनाथ ३ र चैते ५ जातका धान सफल देखिएका छन् । उहाँले वर्षौदेखि धानका जातको अनुसन्धान नभएको दाबी गर्नुभयो । ‘ कृषकहरुले वर्षौदेखि खेती गर्दै आएपनि अनुसन्धान भएको पाईएन,’ थापाले भन्नुभयो,‘ सिफारिस नै नभएका जात प्राय ठाउँमा लगाईदो रहेछ । नयाँ नयाँ जात फेर्दै जानुपर्नेमा किसानहरुले वर्षौदेखि एउटै जात लगाउँदा अपेक्षित उव्जाउ गर्न नसकेको उहाँले बताउनुभयो । किसानले किसानले सिएच–४५, चैते–२, चैते–४ र चैते–६ खुमलटार, टाँकमारे लगायत जात रोप्दै आएको थापाले बताउनुभयो ।
कृषि प्राविधिकहरुले उच्च स्थानमा रहेको पाङको खरीबोट र तल्लो तटिय क्षेत्र कुश्माको अर्मादीमा धानको ब्याड बनाएर अनुसन्धान गरेको हो । माघ महीनामा व्याड बनाएर चैत्रमा रोपिएको धान अहिले उत्पादन सम्म आई पुग्दा स्थानीय जातको धान भन्दा दोब्बर उत्पादन भएको पाईएको छ ।
कार्यालयका अनुसार स्थानीय जातको धान प्रति हेक्टर तीन दशमलव तीन टन प्रति हेक्टर उत्पादन भईरहकोमा अनुसन्धानरत रहेका प्रजातीका धान प्रति हेक्टर ५ देखी ६ टन प्रतिहेक्टर उत्पादन हुने अपेक्षा रहेको रामपुर क्याम्पसका अनुसन्धानकर्ता गंगाराम सुबेदीले बताउनुभयो ।
पर्वतको जलजला गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिका र पैयुँ गाउँपालिकाका केहि क्षेत्रमा चैतेधान रोप्ने गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतको २८ हजार ६ सय हेक्टर खेतीयोग्य जमिनमध्ये ९ हजार ७० हेक्टरमा वर्षे र २ हजार हेक्टरमा चैते धानको खेती हुने सम्भावना छ । तर, अनुदान कटौती, कामदारको अभाव, विभिन्न रोगकिराको प्रकोपका कारण चैतेधानको खेती खुम्चिँदै जान थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्