तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा २० प्रतिशत रोपाई सम्पन्न


सप्तरी । सिंचाईको उचित सुविधा नपुगेको सप्तरी जिल्लामा यस पटक वर्षाले साथ दिएपछि अधिकांश खेतहरुमा किसानहरु धान रोप्न व्यस्त रहेका छन् ।

रोपाईका लागि बेर्ना तयार भएको र वर्षा पनि समयमै हुँदा जिल्लाका किसानहरुमा उत्साह थपिएको महादेवा गाउँपालिका वडा नं. १ सोनराका कृषक बासुदेव यादवले बताउनु भयो । यद्दपी उहाँले समयमै मलखाद उपलब्ध हुन नसक्दा किसानहरु समस्यामा परे पनि जेनतेन गरि धान खेती समयमै गर्न भ्याएको जानकारी दिनुभयो ।

देशकै सबैभन्दा पुरानो चन्द्र नहर, कोशी पश्चिमी नहर र कोशी पम्प नहर गरि तीन तीन वटा नहरहरुबाट सिंचाई सुविधा व्यवस्था गरिए पनि मर्मत सम्भारको अभावले गर्दा कमान्ड क्षेत्र भित्र पानी पुग्न नसकेका कारण जिल्लाका अधिकांश भू–भागमा धान खेतीका लागि आकाशे भर पर्नु पर्ने अवस्था छ ।

सप्तरीमा कूल ७० हजार हेक्टर खेती योग्य जग्गा रहेको छ । जसमध्ये ५९ हजार २ सय ५७ हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्र यादवका अनुसार जिल्लामा हालसम्म करिब २० प्रतिशत जग्गामा धान रोपाई भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button