तपाईँ सुन्दै हुनुहुन्छः

जनप्रतिनिधिको सुविधा रकम कोरोना कोषमा 

दोलखा । दोलखाको शैलुङ गाँउपालिकाले जनप्रतिनिधिको आठ महिनाको बिभिन्न सेवा सुविधा बापतको रकम ४० लाख रुपैया गाँउपालिकाको कोरोना कोषमा जम्मा गरेको छ ।

गाँउपालिका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिहरुले पाउने बिभिन्न सेवा सुविधाको रकम कोरोना कोषमा जम्मा गरिएको अध्यक्ष भरत दुलालले बताउनु भयो । कोरोना संकटको यो बेलामा सबैले सेवा सुविधा लिनु भन्दा त्यसलाई गाँउपालिकाको कोरोना कोषमा जम्मा गर्नु उपयुक्त हुने राय सबैबाट आएपछि पालिकाको बैठकले नै निर्णय गरेर उक्त रकम जम्मा गरिएको अध्यक्ष दुलालले बताउनु भयो ।

०७६ सालको ६ महिनाको र ०७४ सालको लिन बाँकी रहेको जेठ, असार दुई महिनाको गरी आठ महिनाको बिभिन्न सेवा सुविधाको रकम कोषमा जम्मा गरिएको गाँउपालिकाले जनाएको छ । आठ महिनाको गाँउपालिका अधयक्षको दुई लाख पचास हजार, उपाध्यक्षको करिब दुई लाख, वडा अध्यक्षको एक लाख ८० हजार र अन्य सदस्यहरुको समेत गरी ४० लाख भएको र उक्त रकम कोषमा जम्मा गरिएको अध्यक्ष दुलालले बताउनु भयो ।

गाँउपालिकाले जनप्रतिनिधिको बिभिन्न सेवा सुविधा बापतको ४० लाख सहित आर्थिक बर्ष ०७७–०७८ को लागि ६० लाखको कोरोना कोष बनाएको अध्यक्ष दुलालले बताउनु भयो ।

जनप्रतिनिधिको बिभिन्न सेवा सुविधाबापतको ४० लाखमा कोरोना संक्रमण पछि गाँउपालिकाले सुरुमा बनाएको ४० लाखको कोरोना कोषबाट खर्च कटाएर बचेको दुई लाख र गाँउपालिकाको १८ लाख सहित २० लाख थप गरी ६० लाखको कोष बनाईएको अध्यक्ष दुलालको भनाई छ ।

सुरुको कोरोना कोषबाट ३८ लाख बिभिन्न स्वास्थ्य सामग्री खरीद, क्वारेन्टीन व्यवस्थापन, गाँउपालिकाका नागरिक ल्याउने काम र स्वास्थ्यकर्मी तथा कोरोना नियन्त्रण अभियानमा प्रत्यक्ष संलग्न कर्मचारीहरुलाई थप सुविधा दिईएको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button