तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम कारागारमा कैदी नअटेपछि बाहिर पठाईयो

रुकुम। कारागार कार्यालय रुकुम पश्चिममा क्षमताभन्दा धेरै कैदीबन्दीहरु भएर व्यवस्थापनमा समस्या भएपछि केहि कैदीबन्दीलाई बाहिर जिल्लाका कारागारहरुमा स्थान्तरण गरिएको छ । २० पुरुष र ५ जना महिला गरि जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा मंगलबारसम्म १ सय बढी कैदीबन्दीहरु थिए ।

क्षमताभन्दा बढी कैदीबन्दीहरु भएर जसोतसो व्यवस्थापन भैरहेको भएपनि एकैपटक बुधबार कारागारमा २४ जना थपिएपछि त्यहाँ रहेका २५ जनालाई दाङ तुल्सीपुर कारागारमा पठाईएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । एकैदिन थपिएका २४ जना रुकुम चौरजहारी घटनाका प्रतिबादीहरु मुद्धा पुर्पक्षका लागि कारागार चलान भएकाहरु हुन । जिल्ला कारागारमा कैदीबन्दीहरुको संख्या बढेर व्यवस्थापनमा समस्या भएपछि बेलाबेला स्थान्तरण पनि हुदै आएको छ । तर अधिकांस कैदीबन्दीहरु स्थानीय भएका कारण परिवारजनहरु संग भेटघाटको लागि जिल्ला कारागारमा नै बस्न रुचाउने गरेका छन । कैदीबन्दी धेरै हुँदा एउटै बेडमा धेरै जना कैदीबन्दीहरु कोचिएर सुत्नुपर्ने सम्मको समस्या पनि छ ।

रुकुम पूर्व नयाँ जिल्ला बनेपछि झनै कैदीबन्दी थपिएका छन । जिल्ला प्रहरी कार्यालय स्थापना भएपछि प्रहरी सक्रियता संगै रुकुम पूर्वबाट पनि ठुलो मात्रामा कैदीबन्दीहरु रुकुम पश्चिम कारागारमा आउने गरेका छन । रुकुम पूर्बमा जिल्ला कारागार नभएका कारण अदालतबाट कैद फैसला तथा पुर्पक्ष भएका कैदीबन्दीहरु रुकुम पश्चिम कारागारमा नै पठाईने गरिएको छ । जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुमा लागु औषध उत्पादन, प्रयोग र बिक्रिबितरण मुद्धाका धेरै छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button